पोखरा
फेवातालको पामे क्षेत्रमा व्यक्तिले आवासीय निर्माणका लागि सिमसार क्षेत्र पुरिरहेको विषयले गण्डकी प्रदेश सभामा प्रवेश पाएको छ । गण्डकी प्रदेश सभा सदस्य देवका पहारी र प्रकाश बरालले आइतबारको प्रदेश सभा बैठकमा फेवाताल सिमसार क्षेत्र पुर्ने गतिविधि रोक्न माग गरेका हुन् ।
शनिबारमात्रै अनुगमनमा गएका पोखरा महानगरको टोलीलाई नै घेराउमा पारेको आरोपमा वडा प्रहरी कार्यालय, कास्कीले एक टिप्परसहित ७ जनालाई पक्राउ गरेको थियो । व्यवसायी युवराज खतिवडा समर्थक युवाले पोखरा महानगरको ग १ झ ३२० नम्बरको पिकअप गाडीमा गएको नगर प्रहरीसहितको टोलीलाई रोकेका थिए ।
घाँटीछिना क्षेत्रबाट माटो लिएर फेवातालको सिमसार क्षेत्र पुर्ने क्रममा मालबाहक टिपरसहित पक्राउ परे पनि नोंकझोंक भएको थियो । विवाद बढ्दै गएपछि नगर प्रहरीले बैदाम प्रहरी कार्यालयकै सहयोग माग्नुपरेको थियो । धादिङका युवराज खतिवडा पोखराका विभिन्न ठाउँमा मापदण्ड मिचेर सटर व्यवसाय गर्दै आएका व्यापारी हुन् । यसअघि पनि उनी पटकपटक फेवाताल पुर्दै आएको आरोपमा पक्राउ पर्दै छुट्दै आएका छन् ।
पछिल्लो समय फेवातालको सिमसार क्षेत्र पुर्ने काम तीव्र रुपमा बढेर गएको छ । सोही विषय आइतबारको गण्डकी प्रदेश सभामा उठेको हो ।
सांसद प्रकाश बराल र देवका पहारीले सिमसार क्षेत्र पुर्ने गतिविधिलाई रोक्न माग गरेका हुन् । कृषि प्रयोजनका लागि भन्दै महानगरदेखि अनुमति लिने र मापदण्डविपरीत आवास प्रयोजनका लागि सीमसार पुर्ने काम बढेर गएको हो ।
व्यवसायी देवेन्द्र केसीले पनि महानगरबाट कृषि प्रयोजनका लागि सहमति लिएर मापदण्डविपरीत फेवाताल पुरिरहेका छन् । तर, त्यसलाई रोक्न महानगर मौन छ ।
प्रकाशित मिति २०८० जेठ १४ गते आइतबार ०५:२२



