काठमाडाैं
सरकारले ज्येष्ठ नागरिक भत्ता लगायत सामाजिक सुरक्षाका कार्यक्रमका लागि १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ बजेट सार्वजनिक गर्दै सामाजिक सुरक्षाका कार्यक्रमका लागि १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेका हुन् । उनले गत वर्षको भन्दा २३ अर्ब बढी रकम यो शीर्षकमा छुट्ट्याएका छन् ।
चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक ४ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको उनले बताए । उनले ६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकालाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरिएको पनि बताए ।
छात्रवृति, स्वास्थ्योपचार, स्वास्थ्य बीमा लगायतका क्षेत्रमा प्रदान गरिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिएको महतको भनाइ छ । चालु आवमा सामाजिक सुरक्षा र औषधी उपचार तथा आर्थिक सहायताका लागि १ खर्ब ३४ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको छ । सरकारले सेवा निवृत्त कर्मचारीको पेन्सन दिन अतिरिक्त स्रोत खोज्नुपरेको समेत मन्त्री महतको भनाइ छ ।
प्रकाशित मिति २०८० जेठ १६ गते मंगलबार ०८:११




