२०८३ असोज २४ गते शनिबार

पोखरामा भेला हुँदै नेपाली ओलम्पियन

पोखरामा भेला हुँदै नेपाली ओलम्पियन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १८ गते बिहीबार ०४:५०

ओलम्पिकमा सहभागी भएका खेलाडी नेपाल ओलम्पियन्स संघको आयोजनामा शुक्रबारदेखि पोखरामा हुने पुनर्मिलन तथा सम्मान कार्यक्रममा भेला हुन लागेका हुन् ।

पोखरा । नेपालको प्रतिनिधित्व गर्दै सन् १९६४ देखि २०२० सम्म विश्व खेलकुदको महाकुभ्म ओलम्पिकमा सहभागी खेलाडी पोखरामा भेला हुने भएका छन् ।

ओलम्पिकमा सहभागी भएका खेलाडी नेपाल ओलम्पियन्स संघको आयोजनामा शुक्रबारदेखि पोखरामा हुने पुनर्मिलन तथा सम्मान कार्यक्रममा भेला हुन लागेका हुन् ।

खेलबाट टाढिएका र पछिल्ला ओलम्पिकमा सहभागी भएर अहिले पनि खेलिरहेकाबीच भेटघाट गर्ने ओलम्पियन्स संघको उद्देश्य छ । करिब ६ दशकको अन्तरालमा नेपालका ९० जना खेलाडी ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये १० जनाको निधन भइसकेको छ भने केही खेलाडी विदेशमा छन् । पोखरामा हुने कार्यक्रममा ५० जना ओलम्पियन सहभागी हुने रहेको संघका अध्यक्ष दीपक विष्टले बिहीबर पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

पत्रकार सम्मेलनमा प्रदेश खेलुकद परिषद्का सदस्य सचिव श्रीधर शर्माले आफूहरुले जिल्ला खेलकुद विकास समितिमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेका खेलाडीको संख्या संकलन गरिरहेको बताए । त्यसपछि खेलाडी, विभिन्न प्रतियोगिताका आयोजकदेखि प्रायोजकसम्म राखेर भेला गर्ने खेलकुद परिषद्को योजना छ । ‘त्यो भेलाले हामीलाई खेलकुदमा कस्तो नीति बनाउँदा हुन्छ भन्ने सहयोग गर्छ,’ उनले भने ।

कार्यक्रममा सहभागी हुने ओलम्पियनहरू शुक्रबार पोखरा आइपुग्ने छन् । शनिबार बिहान पोखरामा प्रभातफेरी र साँझ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यक्रमको उद्घाटन गर्ने छन् । जेठ २१ गते आइतबार संघको वार्षिक साधारण सभा हुनेछ ।

पोखरा महानगरपालिका खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, कास्कीको समन्वयमा पोखरामा ओलम्पिनको जमघट हुन लागेको हो ।

प्रकाशित मिति २०८० जेठ १८ गते बिहीबार ०४:५०
हजुरको प्रतिक्रिया