२०८३ असोज २४ गते शनिबार

गण्डकीका ओलम्पियनलाई मासिक पाँच हजार रूपैयाँ भत्ता दिने मुख्यमन्त्रीको घोषणा

गण्डकीका ओलम्पियनलाई मासिक पाँच हजार रूपैयाँ भत्ता दिने मुख्यमन्त्रीको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २१ गते आइतबार ०६:५२

गण्डकी प्रदेश सरकारले विश्व खेलकुदको महाकुभ्म ओलम्पिकमा सहभागी प्रदेशभित्रका खेलाडीलाई मासिक पाँच हजार रूपैयाँ प्रोत्साहन भत्ता दिने घोषणा गरेको छ ।

पोखरा । गण्डकी प्रदेश सरकारले विश्व खेलकुदको महाकुभ्म ओलम्पिकमा सहभागी प्रदेशभित्रका खेलाडीलाई मासिक पाँच हजार रूपैयाँ प्रोत्साहन भत्ता दिने घोषणा गरेको छ ।

नेपाल ओलम्पियन्स संघको आयोजनामा शनिबार पोखरामा भएको पुनर्मिलन तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको प्रतिनिधित्व गरेका खेलाडीलाई मासिक प्रोत्साहन भत्ता दिने घोषणा गरेका हुन् । ‘गण्डकी प्रदेशबाट जति पनि ओलम्पियन हुनुहुन्छ उहाँहरुलाई मासिक पाँच हजार रुपैयाँ प्रोत्साहन सहयोग दिने घोषणा गर्दछु,’ उनले भने, ‘इच्छा त सबै ओलम्पियनलाई दिने थियो तर मेरो कार्यक्षेत्रले दिँदैन ।’

गण्डकीबाट स्विमिङ, जुडो, एथलेटिक्स र सुटिङका गरेर ७ जना खेलाडी छन् । देशभरका ९० जना ओलम्पियनमध्ये ऋषिराम प्रधान, सीताराम शाही, भगवती खत्री, ज्ञानबहादुर बोहरा, टीका बोगटी र नारायण गुरुङ गण्डकीका हुन् । प्रदेश सरकार बजेट ल्याउने तयारीमा रहेकाले आगामी वर्षबाट प्रोत्साहन रकम दिने सम्भावना छ ।

पोखरा महानगरपालिका खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, कास्कीको समन्वय आयोजित कार्यक्रममा सन् १९८४ का ८ जना ओलम्पियनलाई सम्मान गरिएको थियो । ओलम्पियन पुष्परज ओझा, अर्जुन पण्डित, अमृत यादव, प्रबिन तुलाचन, मानबहादुर श्रेष्ठ, जगदीश प्रधान र सुरेन्द्र हमाललाई ओलम्पियन संघले प्रमाणपत्र र दोसल्लासहित सम्मान गरेको हो । अरु ओलम्पियनलाई यसअघि नै सम्मान गरिएको थियो ।

महानगरपालिकाले कार्यक्रममा सहभागी हुन पोखरा आएका ५० जना ओलम्पियनलाई माछापुच्छ्रे हिमालको पेन्टिङ उपहार दिएको छ ।

करिब ६ दशकको अन्तरालमा नेपालका ९० जना खेलाडी ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये १० जनाको निधन भइसकेको छ भने केही खेलाडी विदेशमा छन् ।

प्रकाशित मिति २०८० जेठ २१ गते आइतबार ०६:५२
हजुरको प्रतिक्रिया