पोखरा
विगत केही दिनदेखि पानी नपर्दा गर्मी बढेको छ । गर्मी बढिरहेको बेलामा पोखराको तापक्रम पनि उकालो लागेकोे छ । पोखरामा हिजो यो वर्षकै उच्च तापक्रम मापन भएको छ । जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार बिहीबार पोखराको तापक्रम ३५ दशमलव ७ डिग्री सेल्सियस पुगेको हो । कार्यालयका मौसम सहायक सरोज अधिकारीले सन २०२३ को अहिलेसम्म पोखराको तापक्रम हिजो उच्च पुगेको बताए ।
तापक्रम उकालो लागेपछि पोखरामा दिउँसोको समयमा मुख्य/मुख्य बजारमा चहलपहल घटेको छ भने जनजीवन पनि प्रभावित भएको छ । अझै केही दिन पानी पर्ने सम्भावना कम भएकाले तापक्रम अझै बढ्ने सक्ने अनुमान गरिएको छ । यसअघि सन् १९७५ अप्रिल ८ र १९९२ को अप्रिल २२ मा पोखराको तापक्रम ३७.४ डिग्री पुगेको थियो । गर्मी बढेपछि पोखरा आसपासका खोलानाला र बजारभित्रका स्वीमिङ पुलमा रमाउनेहरुको संख्या बढेको व्यवसायीले बताएका छन् ।
यसैबीच देशभरका ४ वटा ठाउँमा तापक्रमको नयाँ रेकर्ड कायम भएको छ । १ सय १३ वटा केन्द्र मध्ये ओखलढुंगा, धरान बजार, इलामको कन्याम चिया बगान र नवलपरासीको दुम्कौलीमा अहिलेसम्मकै उच्च तापक्रम मापन भएको छ ।
१३ वटा केन्द्रमा जुन महिनाको उच्चतम तापक्रम मापन मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । नवलपरासीको दुम्कौलीमा अधिकतम तापक्रम ४३ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो । महाशाखाका अनुसार दुम्कौलीमा यसअघि सन् १९७९ मा अधिकतम तापक्रम ४३ दशमलव ७ डिग्री सेल्सियस पुगेको थियो । धरानमा ३९ दशमलव तीन, ओखलढुंगामा ३१ र कन्याम चिया बगानमा ३० डिग्री सेल्सियस तापक्रम पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रकाशित मिति २०८० जेठ २६ गते शुक्रबार ०७:४१




