२०८३ असोज २३ गते शुक्रबार

आईपीएल : दोस्रो क्वालीफायरमा आज दिल्लीको भेट हैदराबादसंग

आईपीएल : दोस्रो क्वालीफायरमा आज दिल्लीको भेट हैदराबादसंग

मन क्षेत्री

@Public 4K Tv

२०७७ कात्तिक २३ गते आइतबार १२:२२

पाेखरा। आईपीएलको जारी सिजन अन्तर्गतको दोश्रो क्वालीफायरमा आज आइतबार दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ । खेल, शेख जायद स्टेडियम, अबुधाबीमा साँझ ७:४५ बजे सुरु हुनेछ । हैदरावादले इलिमीनेटरमा शुक्रबार...

के सन्दिपलाई आज माैका छ ?

पाेखरा। आईपीएलको जारी सिजन अन्तर्गतको दोश्रो क्वालीफायरमा आज आइतबार दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ । खेल, शेख जायद स्टेडियम, अबुधाबीमा साँझ ७:४५ बजे सुरु हुनेछ ।

हैदरावादले इलिमीनेटरमा शुक्रबार रोयल च्यालेन्जर्स बैंगलोरको पहिलोपटक उपाधी जित्ने सपनालाई चकनाचुर पार्दै क्वालीफायरमा दिल्लीसंगको भेट पक्का गरेको हो ।  दिल्ली भने मुम्बईलाई पराजित गरेर सिधै फाइनल पुग्ने माैका गुमाएका कारण दोस्रो क्वालिफायरको प्रतिष्पर्धासम्म पुगेको हो । दिल्ली पहिलो क्वालीफायरमा मुम्बईसंग पराजित भएको थियो ।

दिल्ली हालसम्म आईपीएलको फाइनल प्रवेश गर्न सकेको छैन भने हैदरावादले यस अघि २ पटक फाइनल खेलीसकेको छ । आज हैदरावादलाई पराजित गर्न सके दिल्लीले पहिलो पटक फाइनल यात्रा गर्नेछ ।

हैदरावादलाई दिल्लीले यो सिजन एकपटक पनि पराजित गर्न सकेको छैन । लिगको सुरुवाती ९ खेल मध्ये ७ खेलमा जित दर्ता गरेको दिल्लीले त्यसपछि लगातार ४ खेलमा हार बेहोरेको थियो। बैंगलोरलाई अन्तिम लिग म्याचमा पराजित गर्दै प्लेअफ छनौट भएको दिल्लीले क्वालीफायरमा मुम्बईसंग पुनः कमजोर प्रदर्शन गर्यो ।

सुरुवातमा सन्तुलित र बलियो देखिएको दिल्लीले पछिल्ला खेलहरुमा लय गुमाउँदै आएको छ ।  खराब लयमा रहेका ड्यानियल स्याम्स ३ खेलमा विकेटविहिन रहेका छन् । ओपनार पृथ्वी शाले शुरुवातमा शानदार प्रदर्शन गरेपनि पछिल्ला खेलहरुमा उनी चल्न नसक्नु दिल्लीको टाउको दुखाइ बनेको छ । यता, अजिन्क्या रहाणेको प्रदर्शन पनि एकनासको हुन सकिरहेको छैन । बैग्लोरविरुद्ध अर्धसतक बनाएका रहाणे मुम्बइबिरुद्ध शुन्यमा पवेलियन फर्केका थिए ।

दिल्लीले आजको खेलमा ड्यानियल स्याम्सलाई नखेलाउन सक्छ । यसो हुँदा टोलीमा भारतीय पेसर हर्षल पटेल आउन सक्छन् । यस्तै आजको खेलमा शिमरन हेटमायरले माैका पाउने सम्भावना प्रवल छ ।  हेटमायर आँउदा रहाणेलाई दिल्लीले के गर्छ त्यो अर्को विषय हो ।स्याम्सलाई बाहिर राख्दा दिल्लीले नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई पहिलो पटक मौका दिन सक्छ। तर सिजनमा ३ जना स्पिनर लिएर दिल्लीले अहिलेसम्म खेलेको छैन । महत्वपूर्ण खेलमा दिल्लीले ३ स्पिनर लिएर खेलेर रणनीति परिवर्तन गर्छ या गर्दैन त्यो हेर्न लायक हुनेछ। अबुधाबीको पिच सुस्त हुँदा सन्दिपले त्यसको फाइदा उठाउन सक्नेछन् ।

प्रमुख खेलाडीहरुको कमजोर प्रदर्शन दिल्लीको चिन्ताको कारण बनेको छ । लिगमा उत्कृस्ट प्रदर्शन गरेका कागीसो रबाडा पछिल्लो ४ मध्ये ३ खेलमा विकेटविहिन छन्। २ शतक बनाएका शिखर धवनले पछिल्लो ५ खेलमा मात्र १ अर्धशतकको मद्दतले ६० रन बनाएका छन् जसमध्ये ३ खेलमा उनले खाता खोल्न सकेका थिएनन् । पृथ्वी श, रिशभ पन्त, श्रेयस ऐयरको ब्याट शान्त छ । भेट्रान स्पिनर रभीचन्द्रन आश्विन, पेसर एनरिक नोर्किया, अलराउण्डर मार्कस स्टोइनिसको लयले टिम आशावादी छ ।

यता, हैदरावाद पहिलो ९ खेलमा मात्र ३ जित बेहोर्दै अंकतालिकामा सातौँ स्थानमा थियो। तर त्यसपछि दिल्लीसहित लगातार ४ खेलमा जित दर्ता गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको हैदरावादले इलिमीनेटरमा बैंगलोरलाई हराउन ठुलो संघर्ष गर्नु परेन। सहि समयमा लय पाएको वार्नर कप्तानीको टिमले त्यस्तो अन्तिम-११ पाएको छ जसले आफ्नो जिम्मेवारी बुझेका छन् र निभाएका पनि छन्। टिमको बलरहरुले उत्कृस्ट प्रदर्शन गर्दै अन्तिम-६ खेलमा १५० भन्दा बढी रन खर्चेका छैनन्। राशिद खान, जेसन होल्डर, टि नटराजन, सन्दिप शर्मा जस्ता बलरहरु शानदार लयमा रहेका छन्। इलिमीनेटरमा विलियमसनको इनिंगले टिममा आत्मविश्वास बढेको छ भने वार्नर पनि राम्रो लयमा छन्।

प्रदर्शन उत्कृस्ट रहेता पनि टिमको ब्याटिंग क्रम भने मजबुत देखिदैन। जेसंन होल्डरले राम्रो प्रदर्शन गरेता पनि मध्यक्रममा धेरै भरपर्दा ब्याट्सम्यानहरु छैनन्। रिद्दिमान शाह नखेल्दा ब्याटिंग अझ कमजोर देखिएको छ जसको झल्को बैंगलोरसंगको खेलमा पनि देखिएको थियो। टिममा छैठौं बलरको कमि पनि देखिन्छ। कुनै एक बलरले नराम्रो प्रदर्शन गरेमा त्यसलाई भरपाई गर्नसकेन बलरको कमि देखिन्छ। हैदरावादको यो कमजोरीमा दिल्लीले प्रहार गर्न सक्छ या सक्दैन हेर्न लायक हुनेछ।

इन्जुरी अपडेट : घाइते भएका कारण इलिमीनेटर खेल्न नसकेका हैदरावादका विकेटकिपर ब्याट्सम्यान रिद्दिमान साहा खेल्ने नखेल्ने निश्चित छैन। अलराउण्डर विजय शंकर पनि ह्याम्सट्रिन्ग इन्जुरीका कारण उपलब्ध हुने छैनन्।

पछिल्लो भेट : हैदरावादले दुवै भेटमा दिल्लीलाई सहजै पराजित गरेको थियो। अबुधाबीको पहिलो भेटमा वार्नर, बेयरस्टो र विलियमसनको इनिंग मद्दतले हैदरावादले १६२/४ को योगफल तयार गरेको थियो। राशिद खानले १४ रन खर्चेर ३ विकेट लिंदा दिल्लीले १५ रनको हार बेहोरेको थियो।

दोश्रो भेटमा हैदरावादले जित्ने पर्ने खेलमा दिल्लीलाई ८८ रनले पराजित गरेको थियो। रिद्दीमान साहा ( ८७ ) र डेभिड वार्नर ( ६६ ) ले उत्कृस्ट ब्याटिंग गर्दा टिमले २१९/२ को विशाल योगफल तयार गरेक थियो। जवाफमा दिल्लीले १३१ रन मात्र बनाउन सकेको थियो। राशिद खानले मात्र ७ रन खर्चेर ३ विकेट लिएका थिए।

बार्दलीको सम्भावित ११ 

दिल्ली क्यापिटल्स : पृथ्वी शा, शिखर धवन,  श्रेयस ऐयर ( कप्तान ) , शिमरन हेटमायर, रिशभ पन्त ( विकेटकिपर ) , मार्कस स्टोइनिस, हर्षल पटेल, अक्षर पटेल, कागीसो रबाडा, रभीचन्द्रन आश्विन, एनरिक नोर्किया

सनराइजर्स हैदरावाद : डेभिड वार्नर ( कप्तान ) , श्रिभत्स गोस्वामी ( विकेटकिपर ), मनिष पाण्डे, केन विलियमसन, जोनी बेरेस्टो, जेसन होल्डर, अब्दुल समद, राशिद खान, शाहबाज नदीम, सन्दिप शर्मा, टि नटराजन

रोचक तथ्य 

– दिल्ली हालसम्म आईपीएलको फाइनल पुग्न सकेको छैन। हैदरावाद २०१६ र २०१८ मा फाइनल पुगेको थियो जसमध्ये २०१६ मा बैंगलोरलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो।

– अबु धाबी मैदानमा दोश्रो ब्याटिंग गर्ने टिमले ९ मध्ये ८ खेल जितेको छ ।

– अन्तिम ८ इनिंगमा पृथ्वी शले मात्र ४९ रन बनाएका छन् जुन क्रममा ३ पटक शून्यमा आउट भएका छन्। सिजनमा १३ खेलमा उनले ८ पटक दोहोरो अंकमा रन बनाउन सकेका छैनन् ।

– यो सिजन १०० बल भन्दा बढी बल खेल्ने ब्याट्सम्यानमा ग्लेन म्याक्सवेल ( १०१.८८ ) पछि अजिंके रहाने ( १०७.७६ ) र रिशभ पन्त ( १०९.६१ ) को सबैभन्दा कम स्ट्राइक रेट रहेको छ

– डेभिड वार्नरले अन्तिम ६ आईपीएल सिजनमा ५०० भन्दा बढी रन बनाएका छन् । सबै सिजनमा उनले ४० भन्दा बढी औशत र १३५ भन्दा बढीको स्ट्राइक रेटले रन बनाएका छन्

– दिल्लीले ७ प्लेअफ/नकआउट मध्ये ६ खेलमा हार बेहोरेको छ। दिल्लीको एक मात्र जित गत वर्ष हैदरावाद बिरुद्ध इलिमीनेटरमा रहेको थियो जतिबेला दिल्ली २ विकेटले विजयी भएको थियो

( श्रोत – क्रिक्इन्फो )

प्रकाशित मिति २०७७ कात्तिक २३ गते आइतबार १२:२२
हजुरको प्रतिक्रिया