पोखरा
आइसिसी एक दिवसीय विश्व कप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज बलियो टिम वेस्ट इन्डिजको सामना गर्दैछ । दिउँसो पौने १ बजे जिम्बाबेको हरारेमा सुरु हुने खेलमा नेपाल र वेस्ट इन्डिज पहिलो पटक खेल्न लागेका हुन् ।
वेस्ट इन्डिज दुई पटकको एक दिवसीय तथा टी–ट्वान्टी विश्व कप च्याम्पियन हो । वेस्ट इन्डिजले सन् १९७५ र १९७९ मा एक दिवसीय विश्व कप जितेको थियो भने २०१२ र २०१६ मा टी–२० विश्व कप जितेको थियो । नेपालका लागि यो ऐतिहासिक अवसर भएको कप्तान रोहित पौडेलले बताए ।
छनोट प्रतियोगितामा आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले अमेरिकालाई हराएको थियो भने नेपाल जिम्बाबेसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई हराएको थियो । समू ‘बी’ मा आयरल्यान्ड, श्रीलंका, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुबै समूहका शीर्ष तीन टोली ‘सुपर सिक्स’ मा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।
प्रकाशित मिति २०८० असार ७ गते बिहीबार ०८:३४