पोखरा । गण्डकी प्रदेश सरकारले असार १ गते ल्याएको आय–व्याय विवरण (बजेट वक्तव्य) माथिको छलफल सकिएको छ ।
गत बुधबारदेखि सुरु भएको छलफलमा उठेका प्रश्नको जवाफ आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले शुक्रबारको बैठकमा दिएपछि वक्तव्यमाथिको छलफल सकिएको हो । छलफलमा भाग लिँदै एमाले दल नेता खगराज अधिकारीले प्रदेश राजधानी भएकै कास्कीमा प्रतिव्यक्ति वित्तीय हस्तान्तरण न्यून भएको भन्दै असन्तुष्टि जनाए । उनले गण्डकी कास्कीबाहेकको प्रदेश प्रश्न हो भन्दै सरकारलाई प्रश्न गरे । मुस्ताङदेखि नवलपुरसम्म समन्यायिक बजेट वितरण नहुँदा प्रदेश संरचनाको विरोध गर्नेलाई बल पुग्ने नेता अधिकारीले बताए ।
माओवादी दल नेता हरिबहादुर चुमानले काम गरेका ठेकेदारलाई भुक्तानी दिन भइरहेको समस्या पहिचान गरेर समाधान गर्नुपर्ने बताए । उनले अब आन्तरिक ऋण उठाएर त्यसलाई विद्युत ऊर्जामा लगानी गरिनुपर्ने बताए ।
सांसदहरुले उठाएको विषयमा जवाफ दिँदै आर्थिक मामिला मन्त्री आलेले आफूले निष्पक्ष बनेर प्रदेशको यथार्थपरक अवस्थाअनुसार बजेट ल्याएको बताए । बजेट बनाउने काममा आफूले मुख्यमन्त्री र अन्य मन्त्रीलाई पनि सहभागी हुन नदिएको मन्त्री आलेले दाबी गरे । मन्त्रालयगत योजना प्राप्त भएपछि मन्त्रालयमा कर्मचारीको टिमले कसैको हस्तक्षेपबिनै बजेट बनाएको उनको भनाइ थियो ।
अर्थमन्त्री आलेले असार १ गते ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट ल्याएको थियो । सांसदहरुलाई मन्त्रालयगत बजेट समावेश भएको वार्षिक विकास कार्यक्रम पुस्तिका शुक्रबार वितरण गरिएको छ । यसमाथि आगामी असार १२ गते बस्ने बैठकमा छलफल सुरु हुनेछ ।
प्रकाशित मिति २०८० असार ८ गते शुक्रबार ०८:४९




