दिल्लीसंग तीन हारकाे बदला लिने माैका
पाेखरा । आईपीएल टी-२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ । सर्वाधिक ४ पटकको विजेता मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स उपाधिका लागि भिड्दै छन् । खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे युएईको दुबईमा हुनेछ ।
सविक विजेतासमेत रहेको मुम्बईले फाइनल खेल्न लागेको यो छैटौं पटक हो । यता, दिल्ली पहिलो पटक फाइनल पुग्दै इतिहास रच्न सफल भएको छ । अब उपाधि जित्दै अर्को इतिहास बनाउन चाहन्छ । लिग चरणमा शानदार शुरूवात गरेकाे दिल्ली सजिलै उपाधी मुम्बईलाई सुम्पने पक्षमा छैन । उ संग लिग र पहिलाे इलिमेनेटरकाे हारकाे बदला लिँदै उपाधी जित्ने अवसर बाँकी नै छ ।

फाइनलअघिको तीन भेटमा मुम्बईले दिल्लीलाई पराजित गरेको थियो । लिग चरणका दुई खेल र पहिलो क्वालिफायरमा मुम्बईले दिल्लीलाई पराजित गरेको हो । पहिलो पटक आईपीएल उपाधि जित्ने हो भने दिल्लीले मुम्बईविरुद्ध तीन हारको बदला लिनुपर्नेछ । दिल्लीका लागि त्यो अवसर पनि छ ।
लिग चरणमा मुम्बई १४ मध्ये ९ खेल जित्दै पहिलो स्थानमा थियो भने ८ खेल जितेको दिल्ली दोस्रो स्थानमा थियो । फाइनल पुग्नका लागि भएको पहिलो क्वालिफायरमा मुम्बईले दिल्लीलाई ५७ रनले पराजित गरेको थियो । लिगमा शीर्ष दुईमा रहेकाले दिल्लीले फाइनल पुग्न अर्को मौका पायो । दोस्रो क्वालिफायरमा दिल्लीले सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गर्दै फेरि मुम्बईसँग भेट पक्का मात्र गरेन पहिलो पटक फाइनल पुग्दै इतिहास समेत कायम गर्यो ।
लिग सुरु हुनुपूर्व धेरैले मुम्बई र दिल्लीलाई नै उपाधिको दाबेदार मानेका थिए । लिगमा पहिलो र दोस्रो भएको टिम नै फाइनलमा पुगेका छन । क्रिकेट अनेकाै अविश्वासहरूकाे खेल भएका कारणपनि यसअघिका रिजल्टले खासै अर्थ नराख्ने खेल विश्लेषकहरूकाे दावी छ ।
रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले फाइनल पुग्दासम्म ब्याटिङ, बलिङ र फिल्डिङमा सन्तुलित प्रदर्शन गर्दै आइरहेको छ । ब्याटिङमा सूर्य कुमार यादव, क्विन्टन डि कक र इशान किसन तथा बलिङमा जसप्रित बुमराह र ट्रेन्ट बोल्टले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । काएनर पोलार्ड र हार्दिक पाण्ड्याको प्रदर्शन मुम्बईको लागि निर्णायक सावित हुन सक्छ ।

उता युवा कप्तान श्रेयस अय्यरको कप्तानीमा रहेको दिल्ली योङ टिमको रुपमा परिचित छ । दोस्रो क्वालिफायरमा दिल्लीले शिखर धवनसँगै मार्कुस स्टोइनसलाई ओपनिङ गराएको थियो । स्टोइनिसले यस सिजन दिल्लीका लागि ब्याट र बल दुवैमा गज्जबको प्रदर्शन गरिरहेका छन् । बलिङमा कागिसो रबाडा र एनरिक नोर्कियाको जोडी जमेको छ । रविचन्द्र आश्विन र अक्षर पटेल जस्ता स्पीनर दिल्लीको साथमा छन् ।
धवन र स्टोइनिस बाहेक ऋषभ पन्त, अजिन्का रहाने र हेयतमायरले उत्कृष्ट ब्याटिङ गरे दिल्लीका लागि उपाधि जिताउन निर्णायक हुन सक्छ ।
फाइनल खेल मुम्बईले जिते एकै प्रतियोगितामा मुम्बईले एउटै टिमलाई चार पटक पराजित गर्नेछ । दिल्लीले जिते ३ हारको बदला लिँदै पहिलो पटक च्याम्पियन हुने अवसर छ । गत सिजन मुम्बईले उपाधि जित्दा चेन्नाई सुपर किंग्स विरुद्ध लिगचरणको दुई क्वालिफायरको एक र फाइनल एक गरी कूल ४ वटै खेल जितेको थियो । २०१७ को फाइनलमा राइजिङ पुनेलाई पराजित गर्नुअघि मुम्बईले त्यही टिमसंग ३ खेल हारेको थियो ।
के सन्दिपकाे माैका छ ?

नेपाली राष्टिय टाेलीका भरपर्दा स्पीनर सन्दिप लामिछानेले क्यारेवियन प्रिमियर लिगमा राम्राे प्रदर्शन गरेका कारण यसपटक दिल्लीकाे शुरूवाती ११ मा स्थान बनाउने धेरैले अपेक्षा गरेका थिए । तर, दिल्लीमा आबद्द भारतीय बलरहरू काेहि घाइते र काेही खास चल्ल नसक्नुकाे परिणति सन्दिपले व्यहाेर्नु पर्याे ।
भारतीय पेस बलर इशान्त शर्मा घाइते हुनु, माेहित शर्मा लगायतका बलर खासै नचल्नुजस्ता कारण दिल्ली अनिबार्य रूपमा २ बिदेशी बलरमा जानुपर्याे । कागिसाे रबाडा र एनरिक नाेर्खिया उसका लागि निर्विकल्प बलर भएपछि २ विदेशी खेलाडीकाे काेटा त्यसैमा समाप्त भयाे । दिल्लीसंग रहेका अलराउण्डरमध्ये मार्काेस स्टाेइनिङ्स निर्विकल्प हुँदा दिल्लीका लागि १ जना मात्र विदेशी खेलाडीकाे ठाउँ खाली रह्याे । एक खेलमा ४ जना मात्र विदेशी खेलाडी खेलाउन पाउने र दिल्लीले हरेक खेलमा टाेलीकाे सन्तुलन हेर्नुपर्ने कारणले सन्दिप लगातार बेञ्चमा छन् ।
यसाे त दिल्लीसंग स्पीनरकाे अप्सनपनि धेरै थियाे । अनुभवी रविचन्द्रन अश्विन, अमित मिश्रा, मध्यक्रममा ब्याटिङसमेत गर्न सक्ने अक्षर पटेलजस्ता भारतीय स्पीनर सन्दिप बेञ्चमा बस्नुपर्ने कारण बने । मिश्रा घाइते हुँदापनि दिल्लीले बाँकि रहेकाे १ विदेशी काेटामा आफ्नाे ब्याटिङ बलियाे बनाउन शिमरन हेटमायर राेज्याे । ३ जना स्पीनर प्रयाेग हुँदापनि दिल्ली बरू प्रविण दुवेमा गयाे । सन्दिप बेञ्चमै सिमित रहे ।
फाइनलमा समेत मुम्बईकाे ब्याटिङ अर्डर बलियाे छ । शुरूवातदेखि स्पीनर कुनाल पाण्ड्यासम्म मुम्बईकाे लागि राम्राे ब्याटिङ गर्न सक्छन । कायरन पाेलार्ड र हार्दिक पाण्ड्याजस्ता ब्याट्सम्यान उसका फिनिसर छन । याे सवै हेर्दा दिल्ली फाइनलमा समेत शिमरन हेटमायरमा जानेछ । हेटमायरले हैदराबाद बिरूद्द उत्कृष्ट ब्याटिङसमेत गरेका छन । यसर्थ, यी सवै सन्तुलन हेर्दा नेपाली युवा स्पीनर सन्दिपकाे आईपीएलकाे याे सिजन बेञ्चबाटै समाप्त हुने देखिन्छ ।
प्रकाशित मिति २०७७ कात्तिक २५ गते मंगलबार ०८:२५




