बागलुङ
बागलुङ नगरपालिकामा जन्मेका छोरीहरुको सम्मान र आर्थिक भविष्यका लागि ‘नगरको छोरी’ कार्यक्रम ल्याएको छ ।
बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममा नगरको छोरी कार्यक्रम अन्र्तगत नगरपालिका भित्र जन्मने छोरीको बैंक खाता खोलेर तत्कालै रु. पाँच हजार जम्मा गरिदिने नीति लिएको छ ।
नगरप्रमुख वसन्त कुमार श्रेष्ठले छोरीको जन्म भए पश्चात छोरीको नाममा नगरपालिकाले रु. ५ हजार मुद्धती खाता खोलेर जम्मा गरिदिने र उक्त खातामा संम्भव हुने अभिभावकले समेत रकम थप गर्न पाउने गरी नगरको छोरी कार्यक्रम अगाडी बढाइने नीति तथा कार्यक्रम ल्याएको छ ।
नगरपालिकाले बैंकसंग सम्झौता गरी उक्त खातामा चक्रिय रुपमा उच्चतम व्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २० बर्ष सम्म झिक्न नमिल्ने कार्यविधि निर्माण गरेर नगरकी छोरी कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको योजना रहेको नगरप्रमुख श्रेष्ठले बताए ।
“अबदेखि नगरपालिका भित्र जन्मने सबै छोरीहरु नगरका छोरी कार्यक्रममा समावेश हुनेछन्, उनिहरुको बैंक खाता खोलेर रु. ५ हजार नगरले नै जम्मा गर्नेछ, अभिभावकले समेत उक्त खातामा इच्छाइएको रकम जम्मा गर्न सक्नेछन्” नगरप्रमुख श्रेष्ठले भने “नगरको छोरी २० वर्ष पुग्दा व्याजले नै राम्रो रकम जम्मा हुनेछ, छोरीको नाममा खाता खोलेपछि बचत गर्न अभिभावकहरु प्रेरित समेत हुनेछन् ।”
नगरप्रमुख बसन्त कुमार श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुन्दर, समृद्ध, सुखी र खुसी बागलुङ नगरको परिकल्पना गरिएको छ । नगरपालिकाले कुकुर नियन्त्रण र नियामन गर्न डग होस्टेल कार्यक्रम समेत ल्याइएको छ । नीति तथा कार्यक्रममा आर्थिक विकास तर्फ कृषिलाई उद्यम, कृषकलाई उद्यमी, निःशुल्क कृषि परामर्श सेवा, गरौं कृषि उत्पादन हातमा, प्रकोप परे विमा छ साथमा लगायतको नीति अवलम्बन गरिएको छ ।
यस्तै जग्गा धनी र कृषकलाई बाँझो जग्गा सदुपयोग गर्ने नगरको नीति रहेको छ । यस्तै पर्यटन तर्फ कृष्णगण्डकी सभ्याता पर्यटन विकास गुरुयोजना अगाडी बढाइने, बागलुङ घुम्न जाऔं अभियान चलाइने, आफू जन्मेको माटो, आफू हिडेको बाटो कार्यक्रम मार्फत युवालाई स्वदेश फर्काउने, शैक्षिक गुणस्तर वृद्धिका लागि अविभावक संग नगर प्रमुख कार्यक्रम शुरु गरिने नीति लिएको नगर प्रमुख श्रेष्ठले बताए ।
यसैगरी पढ्दै कमाउदै, कमाउदै सिक्दै अभियान ल्याउने, विषय विज्ञ शिक्षकहरुलाई घुम्ती शिक्षकको रुपमा परिचालन गर्ने, स्वास्थ्य प्रतिको सचेतना, सुत्केरी महिलालाई पोषण युक्त खाना, बागलुङ नगरी स्वास्थ्य संस्थामा डेलभीभरी भन्ने नारालाई कार्यान्वयनमा लैजाने नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
जेष्ठ नागरिक, असहाय र आर्थिक विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने, एक वडा एक खेल मैदान निर्माण गर्ने, खेल प्रशिक्षक र खेलाडीलाई प्रोत्साहन गर्ने, दीगो सडक निर्माणमा ध्यान दिने, एक वडा एक नमूना पूर्वाधार अगाढी बढाउने नगरको नीति रहेको छ ।
नगरपालिकाले श्रम बैंक निर्माण गर्ने, तामाखानीको अध्ययन गर्ने, मेयर मेरो साथी कार्यक्रम सञ्चालन गर्ने लगायतको नीति लिएको हो ।
प्रकाशित मिति २०८० असार ११ गते सोमबार १२:३१




