चितवन । विश्वकै ठूलो प्रजातिको काठ ठोंगुवा (उड पिकर) चरा चितवनको माडीमा भेटिएको छ । माडीको पाण्डवनगर नजिकै देउता खोला क्षेत्रमा उक्त चरा भेटिएको हो ।
त्यस्तै, अति संकटापन्न खर मजुर प्रजातिको चरा समेत माडीको घाँसे मैदानमा भेटिएको छ । विश्वभरमै ५०० वटाको संख्यामा मात्रै जीवित रहेको मानिएको यो चराको २० जोडी माडीको पाण्डवनगरदेखि सुगिभार क्षेत्रको घाँसे मैदानमा भेटिएको हो । बर्ड एजुकेशन सोसाइटी र नेपाल वाइल्ड लाइफ फोटोग्राफी क्लबले माडीको परशुराम कुण्डदेखि सोमेश्वर क्षेत्रमा चराहरुको अध्ययन गरी सो जानकारी सार्वजनिक गरेको हो ।
अध्ययनका क्रममा सुल्तान टिट र रेड हेडेड ट्रगन नामका दुर्लभ चराहरु पनि माडीको सोमेश्वर सामुदायिक वन क्षेत्रमा भेटिएको चरा अनुसन्धानकर्ता कमल अधिकारीले जानकारी दिए ।
अनुसन्धानकर्ता अधिकारीका अनुसार चितवन जिल्लाभर पाइने ६४१ प्रजातिका चरा मध्ये ३२ वटा प्रजाति लोप हुने अवस्थामा पुगेका छन् । वासस्थानको विनाश हुँदै जानु, ताल तलैया सुक्दै जानु, घाँसे मैदान बिग्रनु, जलवायु परिवर्तन हुनु र चरा सम्वन्धी ज्ञान र शिक्षाको अभाव आदिका कारण चराहरु संकटमा पर्दै गएको उनको भनाई छ ।
माडी क्षेत्रमा चरा पर्यटनको प्रवल सम्भावना रहेको भन्दै उनले माडीको स्थानीय सरकार र पर्यटन व्यवसायीहरुले यसतर्फ ध्यान दिनु आवश्यक रहेको बताए ।
हजुरको प्रतिक्रिया




