२०८३ असोज २४ गते शनिबार

‘गण्डकीको बजेटमा कर्मचारीतन्त्र हाबी भयो’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १७ गते आइतबार ०२:३७

नेकपा माओवादी सांसद कुशुमम बुढामगरले विपक्षमा बस्नेबित्तिकै जे कुरामा पनि विरोध गर्नुपर्छ भन्ने मान्यताबाट माथि उठ्नुपर्ने बताइन् ।

मन्त्रीको क्षेत्रमाभन्दा सचिवको क्षेत्रमा बजेट बढी गएको टिप्पणी

पोखरा

गण्डकी प्रदेश सरकारले ल्याएको बजेटमा कर्मचारीतन्त्र हाबी भएको भन्दै सांसदहरुले आक्रोस पोखेका छन् ।

अर्थमन्त्री जीतप्रकाश आलेलले असार १ गते संसदमा पेश गरेको बजेटको विषयगत छलफल चलेको थियो ।  विपक्षी सांसदमात्रै होइन, सत्तापक्षकै सांसदले पनि कर्मचारी तन्त्र बजेटमा कर्मचारीतन्त्र हाबी भएको टिप्पणी गरेका थिए ।  आइतबार भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथि बोल्ने क्रममा संसदमा बोल्ने क्रममा एमाले सांसद सुधीरकुमार पौडेलले बजेटमा निलोकोट हाबी भएको भन्दै आक्रोस पोखे । पौडेलले नेपाली कांग्रेस, माओवादकिो घोषणापत्र होइन, सरकारको बजेटमा कर्मचारीतन्त्र हाबी भएको बताए ।

यसअघि माओवादी सांसद दमयन्ती रुचालले पनि कर्मचारीले बजेट तोडमोड गरेको भन्दै संसदमै आवाज उठाएकी थिइन् । आइतबार विपक्षी सांसदहरुले कर्मचारी हाबी भएको र संघीयताको मर्मअनुसार बजेट नआएकोे बताएका छन् ।
नेकपा माओवादी सांसद कुशुमम बुढामगरले विपक्षमा बस्नेबित्तिकै जे कुरामा पनि विरोध गर्नुपर्छ भन्ने मान्यताबाट माथि उठ्नुपर्ने बताइन् । बजेट निर्माणमा केही कमजोरी भए पनि टुक्रे योजनाहरु हाल्ने परम्पराबाट थोरै माथि उठ्न खोजेको उनको भनाइ थियो ।

नेकपा एमालेका कृष्ण पाठकले पनि मन्त्रीका क्षेत्रमाभन्दा मन्त्रालयका सचिवको क्षेत्रमा बजेट बढी परेको बताए । केही माननीयले आफ्नो गैरी खेत बेचेर आफ्ना सेनाहरुलाई प्रयोग सामाजिक सञ्चालमा प्रचारबाजी गर्नुपर्ने कारणको पनि जवाफ चाहिएको पाठकको भनाइ थियो । मुख्यमन्त्री, मन्त्री र सचिवहरु केन्द्रित बजेट आएको भन्दै पाठकले संसदमा आवाज उठाए ।

असार १ गते अर्थमन्त्री जीतप्रकाश आलेले ३३ अर्ब ४२ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । त्यही बजेटको मन्त्रालयगत छलफल चलेको हो । मन्त्रालयगत छलफलमा अक्षर सानो भएकोे भन्दै नेकपा एमाले र राप्रपाले विरोध गरेपछि आइतबार सबै मन्त्रालयको बेग्ला बेग्दै कार्यक्रम पुस्तिका छापेर वितरण गरिएको छ । आगामी बजेटको वार्षिक कार्यक्रम पुस्तिकाममा सानो अक्षर हुँदा पढ्नै नसकिएको भन्दै प्रतिपक्षी दलले विरोध जनाएका थिए । बैठक भोलि पुनः बस्ने गरि सकिएको छ ।

प्रकाशित मिति २०८० असार १७ गते आइतबार ०२:३७
हजुरको प्रतिक्रिया