पर्वत
पर्वतको फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले नगरको नेतृत्व समालेको पूरै वर्ष दिन पुगिसकेको छ । यस अवधिमा नगर प्रमुख तिवारीको कार्यकाल विवादको घेरा भन्दा बाहिर जान सकेन । उनकै पार्टी नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरू पनि नगर प्रमुख तिवारीको कार्यशैलीप्रति सन्तुष्ट देखिँदैनन् । काँग्रेसका कार्यकर्ताहरूले समेत उनको कामकारबाहीलाई लिएर असन्तुष्टि पोख्दै आएका छन् ।
नगर प्रमुखको उम्मेदवार रहेको बेला जनताको घरदैलोमा पुगेर सरकारी गाडी नचढ्ने बताएका नगर प्रमुख तिवारी अहिले सेतो नम्बर प्लेटको गाडीमा हुइँकने गरेका छन् । नगर प्रमुख तिवारीले देखाएको दोहोरो चरित्र हेरेर बसेका उनका मतदाताहरू नै अचम्मित छन् । नगर प्रमुख तिवारी विवादित र आलोचित बन्नुका धेरै कारणहरू मध्येको केही मुख्य कारणहरू यस्ता छन् :
- सरकारी गाडी नचढ्ने देखि चढ्ने सम्म
नगर प्रमुख गंगाधर तिवारीले चुनाव जितेमा सरकारी सुविधाको गाडी नचढ्ने बताएको एक वर्ष बितिसकेको छ । चुनावी मैदानमा सस्तो लोकप्रियताका लागि उनले सरकारी गाडी नचढ्ने बरु त्यसलाई एम्बुलेन्स बनाउने उद्घोेष गरेका थिए । त्यति बेला गरेको त्यो भाषणलाई आम मतदाताहरूले सत्य सम्झे । र, उनीहरूले मत हाली जिताएर पनि पठाए । तर, निर्वाचित बनेको ६ महिना बित्न नपाउँदै नगर प्रमुख तिवारीलाई सरकारी गाडी चढ्ने रहर जाग्यो । उनको त्यो रहरलाई नगरपालिकाका प्रवक्ता अच्युत तिवारीले पुरा गर्ने जिम्मा लिए । त्यसपछि उनले नगरपालिकाको कामहरू बारे जानकारी गराउने भन्दै पत्रकार सम्मेलन गरे । तर, त्यहाँ नगर प्रमुख तिवारी उपस्थित भएनन् ।
पत्रकार समक्ष नगरपालिकाले गरेका केही बुँदाहरू प्रवक्ता तिवारीले पढेर सुनाए । त्यही क्रममा उनले नगर प्रमुख ज्यूलाई निजी गाडी चढ्दा अप्ठ्यारो भएको र मन्त्रालय लगायतका सरकारी कार्यालयहरूमा जाँदा समस्या हुने गरेको सुनाए । अनि नगर प्रमुख तिवारीलाई सरकारी गाडी चढ्न आग्रह गर्छौ समेत भन्न भ्याए । पत्रकार सम्मेलन नगर प्रमुख तिवारीको लाज फुकाएर सरकारी गाडी चढ्ने व्यवस्था मिलाउनकै लागि भएको कुरा पत्रकारले बुझिसकेका थिए । हिजोआज प्रवक्ता तिवारीले नगर प्रमुखलाई सरकारी गाडी चढ्ने वातावरण मिलाइ दिने उद्देश्यले नै पत्रकार सम्मेलन राखेको कुरा आफू निकटस्थहरूलाई बताउने गरेका छन् ।
- नासु च्याप्ने देखि हाकिम फाल्ने सम्म
नगर प्रमुख तिवारीले यति सम्म गरे कि नायव सुब्बालाई काखा च्यापेर प्रमुख प्रशासकीय अधिकृतको सरुवा नै गर्न भ्याए । त्यति बेला आखिर भएको चाहिँ के थियो त ? नायव सुब्बा पाराश्वर शर्मा तत्कालीन नगर प्रमुख पदमपाणी शर्माको कार्यकाल देखि नै जिन्सी शाखाको नेतृत्वमा थिए । नगरपालिकाको जिन्सी शाखालाई गतिलो आर्थिक उपार्जनको रूपमा पनि हेर्ने गरिन्छ । एउटै कर्मचारी एकै ठाउँमा लामो समय देखि बसिरहेको भन्दै त्यो बेलाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले नायव सुब्बा शर्मा सहित चार कर्मचारीको जिम्मेवारी हेरफेर गरेका थिए । तर, नगर प्रमुख तिवारीले नायव सुब्बा शर्माका लागि देखाएको अस्वाभाविक प्रेमका कारण शर्माले जिन्सी शाखा छाडेर अन्त जानुपर्ने भएन । प्रमुख प्रशासकीय अधिकृत पौडेलको प्रशासनिक अधिकार माथि नगर प्रमुख तिवारीले ठाडो हस्तक्षेप गरेपछि नगरपालिका झनै विवादित बन्न पुगेको थियो । त्यही विवादका बिचमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नायव सुब्बा शर्मालाई सरुवा समेत गरेको थियो । तर, तीन दिनमा नै नतिजा उल्टियो । र, हकिमको पो सरुवा भयो । आखिर नेपाली काँग्रेसबाट निर्वाचित नगर प्रमुख तिवारीले किन जिन्सीमा कार्यरत नायव सुब्बा शर्माप्रति त्यति बिघ्न माया देखाए ? काँग्रेसजनहरु नै चकित परेका छन् । जब कि नगरमा काम गर्न सहज होस् भनेर उनै नगर प्रमुख तिवारी र नेपाली काँग्रेसको चाहनामा नै प्रमुख प्रशासकीय अधिकृत पौडेल फलेवास गएका थिए । उनले काखी च्यापेका नायव सुब्बा शर्मा चाहिँ नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनमा आबद्ध छन् ।
- क्लिन फलेवास, ग्रिन फलेवास
तत्कालीन फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले फलेवासको सुन्दरता र प्रतिष्ठा बढाउने भन्दै “क्लिन फलेवास, ग्रिन फलेवास” कार्यक्रम सञ्चालनमा ल्याएका थिए । तर धेरैले यस कार्यक्रमको औचित्य माथि प्रश्न मात्रै उठाएनन् । उनीहरूले कार्यकर्ता भर्ती केन्द्र«का रूपमा “क्लिन फलेवास, ग्रिन फलेवास” कार्यक्रम आएको भन्दै विरोध समेत गरेका थिए । नभन्दै महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८-०७९ को प्रतिवेदनमा “क्लिन फलेवास, ग्रिन फलेवास” कार्यक्रमको औचित्यमाथि प्रश्न उठाइएको छ । प्रतिवेदनमा १२ जना कर्मचारीहरू नियुक्ति गरी वार्षिक ३१ हजार ९४ हजार ५ सय रुपैयाँ तलब भत्तामा गरिएको खर्चको उपलब्धि देखाउन नसकेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । “क्लिन फलेवास, ग्रिन फलेवास” कार्यक्रमले जनजीवनमा कस्तो प्रभाव पा¥र्यो ? र कर्मचारीको कार्य विवरण माग गर्दा समेत नगरपालिकाले नदिएको कुरा महालेखाको प्रतिवेदनमा लेखिएको छ । प्रतिवेदनले पालिकाको आन्तरिक आय न्यून रहेको अवस्थामा दरबन्दी बाहिर हुने गरी कार्यक्रम तर्फबाट कर्मचारी राख्न नमिल्ने पनि बताएको छ । महालेखाको प्रतिवेदन सार्वजनिक भए लगत्तै फलेवास नगरपालिकाको प्रवक्ता एवं वडा नम्बर ४ का वडा अध्यक्ष अच्युत तिवारीले “क्लिन फलेवास, ग्रिन फलेवास” कार्यक्रमलाई लिएर तीव्र असन्तुष्ट जनाएका थिए । उनले यस कार्यक्रमलाई खारेज गरिनुपर्ने माग राख्दै आएका छन् । उनी लगायत काँग्रेसका अन्य वडाध्यक्षहरूले यही कार्यक्रमलाई हटाउन माग राख्दा नगर सभा नै बस्न सकेन । एमालेले कुनै पनि हालतमा यस कार्यक्रमलाई निरन्तरता दिनुपर्ने अडान राख्दै आएको छ । फलेवास नगरपालिकाका नगर प्रमुख तिवारी चाहिँ “क्लिन फलेवास, ग्रिन फलेवास” कार्यक्रमलाई निरन्तरता दिने पक्षमा देखिन्छन् । नगर प्रमुख तिवारीले नगरलाई आर्थिक भार पर्ने कार्यक्रम हटाउन खुट्टा नटेकेको भन्दै काँग्रेसकै वडा अध्यक्षदेखि सदस्यहरू नै रुष्ट बनेका छन् ।
- सवारी साधन मर्मतका नाममा मनपरी
फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीको कमजोर नेतृत्वका कारण त्यहाँ कार्यरत कर्मचारीहरूले सवारी साधन मर्मत खर्चको बहानामा लुट्नसम्म लुटेका छन् । चुनाव अघि सरकारी गाडी नचढ्ने बताएर वाह्वाही बटुलेका नगर प्रमुख तिवारीकै नगरमा सवारी मर्मत खर्च अस्वाभाविक देखिएपछि विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित पनि भएका थिए । त्यही प्रकाशित समाचारलाई आधार मानेर हेर्दा वडा नम्बर ३ को पल्सरले ५५ हजार ४० रुपैयाँ मर्मत खर्च लिएको देखिन्छ । यस्तै ध १ ब. ५२७ नम्बरको एम एच वाइकले ४२ हजार ६४ रुपैयाँ, ध १ ब. ३०१ नम्बरको पल्सरले ४१ हजार ४९९ रुपैयाँ, ध १ ब. १५८ नम्बरको युनिकनले ४० हजार ३० रुपैयाँ, ध १ ब. ५२६ एक्सपल्स वाइकले ३२ हजार १८ रुपैयाँ, ध १ ब. २१९ नम्बरको डिस्कोभर वाइकले २७ हजार ६ रुपैयाँ र ध १ ब. ४३१ नम्बरको पल्सर वाइकले १५ हजार २ रुपैयाँ, मर्मत खर्च लिएका छन् ।जनताको करबाट तलब भत्ता खाँदै आएका कर्मचारीहरूले जनताकै ढाड सेकिने गरी मर्मत शुल्कको नाममा मोटो रकम कुम्ल्याउनु लज्जास्पद विषय बनेको छ ।
नगर प्रमुख तिवारीलाई कर्मचारी कटौती देखि सरकारी गाडीको दुरुपयोग लगायतका विषयमा मितव्ययी बन्न विभिन्न सरोकार निकायका व्यक्तिहरूले भेटेर आग्रह गर्दै आएको भए पनि नगर प्रमुख तिवारीले बेवास्ता गर्ने गरेका छन् । फलेवासका नगर प्रमुख गंगाधर तिवारीको लोकप्रियता घट्दो क्रममा छ । उनकै पार्टी नेपाली काँग्रेसका कार्यकर्ताहरूले पनि नगर प्रमुख तिवारी सुध्रन आवश्यक रहेको कुरा सामाजिक सञ्जालमा छताछुल्ल लेख्न र बोल्न थालेका छन् । उनी बेलैमा नसचिए आगामी चुनावमा काँग्रेसलाई गाह्रो पर्ने काँग्रेसी कार्यकर्ताहरूको बुझाई छ ।
प्रकाशित मिति २०८० असार २२ गते शुक्रबार ०५:३८




