२०८३ साउन २१ गते बिहीबार

आगामी शुक्रबारबाट रिलिज हुने ‘बगान’ एकल महिलाको कथा

आगामी शुक्रबारबाट रिलिज हुने ‘बगान’ एकल महिलाको कथा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २४ गते आइतबार ०६:३२

सिनेमाको यसअघि टिजर, ट्रेलर र गीत सार्वजनिक भइसकेको छ ।

पोखरा

आगामी शुक्रबारबाट रिलिज हुने ‘बगान’ एकल महिलाको कथा भएको निर्देशक एवम् कलाकार सरोज खनालले बताएका छन् ।

चलचित्र पत्रकार संघ कास्कीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एकल महिलाहरुको कथालाई उठान गरिएको सुनाए ।

‘बगान एकल महिलाको कथा हो । हाम्रो समाज पितृसतात्मक समाज हो । अझै पनि एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छैन ।

बगानमा यस्तै सामाजिक विषयलाई उठाएका छौं ’, उनले भने ।

एकल महिलाका कथालाई दबाएर राख्न हुदैन भन्ने लागेर नै बगान बनाइएको भनाई उनको छ ।

खनालले समाजमा पछाडि परेको विषयलाई अगाडि ल्याउने उद्देश्य सहित सिनेमा निर्माण गरिएको जनाए ।

‘४० वर्ष भयो म सिनेमा क्षेत्रमा लागेको । एकल महिलालाई हिजो हाम्रो समाजले जुन रुपले हेथ्र्यो आज पनि उस्तै छ जस्तो लाग्छ । एकल महिलालाई पनि यो समाजमा जिउने अधिकार छ । उनीहरुका पनि आफ्ना समस्या छन् । जसलाई बगान मार्फत उठाउने प्रयास गरिएको छ’, उनले भने ।

खनालले समाज परिवर्तनका लागि बुबा भन्दा आमा शिक्षित हुनुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।

करिश्मा मानन्धरको जीवनी बगानको कथासँग मिल्ने भएकाले मुख्य भूमिकामा राखिएको उनले बताए ।

उनले बगानको कथा नयाँ भएको दाबी गरेका छन् ।

‘करिश्मा जीले हालसम्म दुई सय भन्दा बढी सिनेमामा अभिनय गर्नुभयो होला । ती सबै सिनेमामा उहाँ नायिकाको भूमिकामा मात्रै सिमित रहनुभयो । तर बगानमा करिश्मा जी नै मुख्य भूमिकामा हुनुहुन्छ । यो नै दर्शककाका लागि रोचक र नयाँ लाग्न सक्छ ।’, उनले भने ।

नायिकालाई शो पिसका रुपमा मात्र हेर्न नहुने धारणा उनको छ ।

दर्शकले नेपाली कथावस्तुलाई नै मन पराएकाले बगान चल्नेमा उनी विश्वस्त छन् ।

समाजभन्दा बाहिरका सिनेमा हलमा नचलेको र अर्गानिक कथावस्तुलाई नै रुचाइएको उनले बताए ।

उनले सिनेमामा समस्या मात्र देखाउने भन्दा पनि समाधानको बाटो समेत पहिल्याउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।

बगानमा समस्या सँगै समाधान पनि भएको अभिव्यक्ति उनको छ ।

सिनेमाको करियरमा नै आफुले ३१ सिनेमामा अभिनय गरेको र १९ सिनेमाले एक सय दिन मनाएको हुँदा निर्मातालाई कसरी जोगाउने विषयमा राम्रो ज्ञान भएको दाबी उनको छ ।

दर्शकको रोजाईको सिनेमा बगान बन्ने अपेक्षा उनले गरेका छन् ।

अभिनेत्री करिश्मा मानन्धरले बगान आफ्ना लागि महत्वपूर्ण सिनेमा भएको उल्लेख गरिन् ।

उनले बगान समाजको ऐना भएको बताइन् ।

‘बगान समाजको ऐना हो । एकल महिलाले भोग्नुपरेका पीडा लाई उजागर गर्न सिनेमाले मदत पुर्याएको छ । समाजले बुझ्ने र आफ्नोपनको महशुस गर्ने गरी सिनेमा निर्माण भएको छ ’, उनले भनिन् ।

पोखराका दर्शकले आफु र आफ्ना सिनेमालाई सदैव माया गरेको र बगानलाई समेत माया गर्नेमा आशावादी रहेको उनले बताइन् ।

बगानबाट नै डेब्यू गरेकी अभिनेत्री प्रमिला कार्कीले श्रीमानले लगानी गरेको भएर आफु सिनेमामा नआएको प्रष्ट पारिन् ।

उनले सिनेमाको कथा मन परेकाले तयार भएको बताइन् ।

अभिनय सिकेर नै उक्त क्षेत्रमा आएको र आगामी समयमा समेत सिनेमा क्षेत्रमा नै निरन्तरता दिने लक्ष्य रहेको भनाई उनको छ ।

बगानमा सरोज खनाल, करिश्मा मानन्धर, प्रमिला कार्की अलवा आकाश श्रेष्ठ, निर शाह, बसुन्धरा भूसाल, मिथिला शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।

सुरेश वाग्ले बगानका निर्माता हुन् ।

सिनेमाको यसअघि टिजर, ट्रेलर र गीत सार्वजनिक भइसकेको छ ।

केही समयको मोफसल दौड पश्चात बगान टीमले मंगलबार काठमाडौंमा प्रिमियर गर्दैछ ।

प्रकाशित मिति २०८० असार २४ गते आइतबार ०६:३२
हजुरको प्रतिक्रिया