पोखरा
आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्ती आज देश तथा विदेशका विविध कार्यक्रम मनाइँदैछ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए ।
सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई गुन लगाएका छन् भने उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लयसाथ पाठ गर्ने गरिएको छ । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको महत्वपूर्ण योगदान छ ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।
‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत उनका कृति छन् । उनको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देशमा पनि मनाइने गरिएको छ । पोखरा र गण्डकी प्रदेशमा पनि विविध कार्यक्रम गरी भानु जयन्ती मनाइँदैछ । भानु जयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्बजनिक बिदा दिएको छ ।
प्रकाशित मिति २०८० असार २९ गते शुक्रबार ०८:०५




