विपद्मा राहत पाउने आश
स्याङ्जा
स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका वडा नं १ को सहेलेमा हेलिप्याड निर्माण भएको छ । अर्जुनचौपारी गाउँपालिकाको आर्थिक व्यवस्थापन तथा नेपाली सेना, समरजित गुल्मको श्रमदानमा निर्माण सम्पन्न भएको उक्त हेलिप्याड आज नेपाली सेनाले एक कार्यक्रमका बिच गाउँपालिकालाई हस्तान्तरण गरेको छ । नेपाली सेना समरजीत गुल्मका गुल्मपति सेनानी हरिप्रसाद भट्टराईले गाउँपालिकाका प्रमुख सेवक प्रकाश तिवारीलाई हेलिप्याड हस्तान्तरण गरेका थिए ।

उक्त हेलिप्याड हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्याङजा जिल्लाका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले विपद् र समस्या भन्ने कुरा कतिबेला कसलाई आउँछ थाहा नहुने भएकाले विपद् व्यवस्थापनमा हेलिप्याड निर्माण महत्वपूर्ण रहेको बताए । विपद् व्यवस्थापनमा स्थानीय तहसँग सहकार्य आवश्यक भएको भन्दै प्रजिअ घिमिरेले जिल्ला सुरक्षा समिति तथा अन्य सरोकारवालाहरुसँग मिलेर काम गर्न आफू प्रतिबद्ध रहेको सुनाए ।
गाउँपालिसँगको समन्वयमा समरजित गुल्म स्याङ्जाले चालु आर्थिक वर्ष २०८९-८० सीमित कार्यक्रम अन्तर्गत विपदमा परेका, जटिल अवस्थाका गर्भवती-सुत्केरी तथा गम्भीर खालका बिरामीहरूलाई आकस्मिक उद्धार गर्न सहज बनाउन हेलिप्याड निर्माण गरिएको गाउँपालिका प्रमुख सेवक प्रकाश तिवारीले बताए ।

हेलिप्याड जम्मा ७ लाख ३३ हजार ४ सय ५९ रुपियाँमा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । १५ दिनमा निर्माण गरिएको उक्त एमआई १६ हेलिप्याड करिब ६०÷६० फिट लम्बाइ र चौडाइ भएको जिल्लाकै सबैभन्दा ठुलो हेलिप्याड मानिएको छ ।
प्रकाशित मिति २०८० असार ३० गते शनिबार १०:२५




