काठमाडौं
नेपाल भलिबल संघले हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त गरेको छ ।
सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकी विरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको र उनी कर्तव्यबाट विमुख भएको भन्दै भलिबल संघले कप्तान पदबाट हटाएको हो ।
सोमबार आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेका थिए । घटनापश्चात गठन भएको ५ सदस्यीय छानबिन समितिले दिएको सिफारिसको आधारमा संघले उनलाई कप्तानबाट हटाएको हो ।
‘उनीमा राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्न सक्ने क्षमता हामीले पाएनौं जसका कारण उनलाई पदबाट बर्खास्त गरिएको हो’, भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।
विवादित खेलका रेफ्री गरेका चित्र गुरुङ र अनिल रानालाई क्लब च्याम्पियनसिप र क्लब लिगमा निर्णायकको भूमिका निर्वाह गर्न नदिने गरि कारबाही गरेको छ ।
सोही घटनामा त्रिभुवन आर्मी क्लबका ३ जना खेलाडीलाई कारबाही गरेको छ ।। दर्शकमाथि हातपात तथा खेलका क्रममा अनुशासनहीन गतिविधि गरेको भन्दै संघले क्लबका स्पाइकर धनबहादुर भट्टलाई ६ महिना तथा राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३ महिनाको प्रतिबन्ध लगाएको छ ।
भट्टलाई ६ महिना तथा विष्ट र कुँवरलाई ३ महिना राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेको छानबिन समितिका संयोजक रोशन श्रेष्ठले जानकारी दिए ।
गण्डकी प्रदेशविरुद्ध तेस्रो सेटमा आर्मी २३–२४ को अवस्थामा थियो । रेफ्रीले चेकआउट हुँदा अंक आर्मीलाई दिएको भन्दै गण्डकीका खेलाडी असन्तुष्ट जनाएका थिए । सोही क्रममा खेल अनुशासन भन्दा बाहिरको कामहरु भएका थिए ।
प्रकाशित मिति २०८० असार ३१ गते आइतबार ०२:११




