काठमाडौं
बंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जितेर नेपाली महिला राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्केको छ ।
फिफा डेटमा भएको यि दुई टोलीबीच आइतबार भएको दोस्रो खेलमा वैकल्पिक गोलकिपर अन्जना राना मगरको उच्च प्रदर्शनाबाट प्रेरित नेपालले बंगलादेशलाई टाइब्रेकरमा ४–२ ले हराउँदै उपाधि जितेको थियो ।
टाइब्रेकरमा आफू गोल गर्नबाट चुकेपनि अन्जनाले बंगलादेशका दुई खेलाडीको पेनाल्टी रोक्दै जितको आधार तयार गरेकी थिइन् ।
पेनाल्टीमा सावित्रा भण्डारी साम्बा, हिराकुमारी भुजेल, दीपा शाही र अनिता केसीले भने गोल गरेका थिए ।

त्यसअघि बिहीबारको खेल भने १–१ को बराबरीमा टुंगिएको थियो । बंगलादेशकी कप्तान सविना खातुनले गोल गर्दै पहिलो हाफमा अग्रता दिलाएकी थिइन् । साम्बाले इन्जुरी समयमा गोल फर्काउँदै खेललाई बराबरी गरेकी थिइन् । ४५ अन्तर्राष्ट्रिय खेलमा साम्बाको गोल संख्या ४४ पुगेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमालस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले खेलाडीको स्वागत गरेका थिए । महिला टोली अब असोजमा चीनमा हुने १९ औं एसियाली खेलकुदको तयारीमा जुट्नेछ । त्यस टोलीको मुख्य प्रशिक्षक भने बालगोपाल महर्जन रहेका छन् ।
प्रकाशित मिति २०८० साउन १ गते सोमबार ०३:१७




