नेपालबाट हङकङ गएका ७ जना यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि हङकङ सरकारले नेपालबाट हङकङका लागि हुने सबै उडानमाथि पुनः प्रतिबन्ध लगाएको छ ।
हङकङमा बुधवार थप १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्रले जनाएको छ। संक्रमितमध्ये १५ जना आयातित र ३ जना स्थानीय रहेका छन् । आयातितमध्ये ७ जना नेपालको आरए फ्लाइट नं. ४०९ बाट हङकङ जानेहरू रहेका छन् ।
यात्रुसंगै कोरोना संक्रमित भित्रिएपछि यसअघि पनि दुई पटक नेपालको उडानमाथि हङकङ सरकारले प्रतिबन्ध लगाएको थियो । पछिल्लो पटक ४ नोभेम्बरपछि खुला भएको उडानपछि पुनः तेश्रो पटक प्रतिबन्ध लगाइएको हो ।
नेपालबाट हुने सबै उडान दुई हप्ताको लागि नोभेम्बर १२ देखि नोभेम्बर २५ तारिखसम्म प्रतिबन्धित हुने भएको छ ।
हङकङमा कोरोना संक्रमितको संख्या ५,५४०८ पुगेको छ। ५,१५९ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । ९३ जनाको उपचार भइरहेको छ । ६ जना कोरोनाका विरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ। कोरोनाबाट हङकङमा १०८ जनाको ज्यान गइसकेको छ ।
प्रकाशित मिति २०७७ कात्तिक २६ गते बुधबार ०४:३४




