पोखरा
फोहोर व्यवस्थापन राम्रोसँग नभएको भन्दै स्थानीयले अवरोध गरेपछि पोखरा महानगरपालिकाको फोहोर बुधबार दिउँसोदेखि उठन सकेको छैन । फोहोर व्यवस्थापन हुन नसकेपछि सडकमा फोहोर थुप्रिन थालेको छ । सडकमा फोहोर थुप्रिएपछि दुर्गन्ध समेत फैलिएको छ ।
पुस दोस्रो सातादेखि पोखरा महानगरपालिका–३२ लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा महानगरले फोहोरमैला व्यवस्थापन गर्दै आएको छ । स्थानीयवासीले ल्यान्डफिलमा सही ढंगले फोहोर व्यवस्थापन नभएर दुर्गन्ध फैलिएको तथा सडक कच्ची हुँदा बर्खामा हिलो र हिउँदमा धुलो भएर आफूहरुले सास्ती खेप्नु परेको गुनासो स्थानीयले गरेका छन् ।
पोखरा महानगरपालिका सरसफाइ शाखाका हर्क गायकका अनुसार बुधबार दिउँसोदेखि ल्यान्डफिलमा फोहोर लैजान स्थानीयले अवरोध गरेका हुन् । पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले ल्यान्डफिलतर्फ जाने सडक कच्ची हुँदा बर्खामा हिलो र हिउँदमा धुलो हुने भएकाले सडकको स्तरोन्नति र फोहोरलाई दुर्गन्ध नआउने गरी विर्सजन गर्न स्थानीयले माग राखेको बताए । स्थानीयको मागलाई सम्बोधन गर्ने गरी छलफल भइरहेको उनले बताए ।
पोखरा महानगरपालिकाले वडा नम्बर ३३ मा स्थायी ल्यान्डफिल बनाउने निर्णय गरेपनि त्यसले अझै मुर्त रुप पाएको छैन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि उडान र अवतरण्मा समस्या हुनेभएपछि पोखरा १४ बाच्छेबुडुमा रहेको ल्यान्डफिलमा फोहोर व्यवस्थापन नगरी त्यसकाे विकल्पमा अस्थायी रुपमा पोखरा ३२ लामेआहालमा विसर्जन गर्न थालिएको हो ।
प्रकाशित मिति २०८० साउन १२ गते शुक्रबार ११:२९




