टिबी र सरुवा रोगका बिरामीको लागि प्रयोग
बाग्लुङ
बाग्लुङको धौलागिरि अस्पतालले कोराना नियन्त्रणका लागि प्रयोग गरेको अस्थायी संरचनालाई नियमित सञ्चालनमा ल्याएको छ । सरुवा रोगको सम्भावनालाई मध्यनजर गर्दै कोरानोका बेला निर्माण भएका अस्थायी संरचनालाई व्यवस्थित गरेर सञ्चालनमा ल्याइएको हो ।
कोरोना महामारीको बेला खरिद गरिएका उपकरण र संरचना प्रयोगविहिन भइरहेको बेला धौलागिरि अस्पतालले दैनिक रुपमा प्रयोगमा ल्याएको छ । टिबी तथा अन्य सरुवा रोगका बिरामी आउदा जनरल वार्डलाई समस्या नपर्ने गरी कोभिड १९ महामारीको बेला बनाईएका संरचनालाई व्यवस्थित राख्दै भविष्यमा आउन सक्ने संभावित जोखिमलाई समेत मध्यनजर गरेर संरचनालाई व्यवस्थित गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
उपकरण र संरचना मात्रै होइन कोरोनाकालमा बनेको अक्सिजन प्लाण्टसमेत नियमित सञ्चालनमा रहेको अस्पतालकी सूचना अधिकारी शान्ति भण्डारीले जानकारी दिइन् । २ अक्सिजन प्लाण्टबाट उत्पादित अक्सिजन अस्पतालसँगै बाहिर पनि प्रयोग हुने गर्दछ ।
गण्डकी प्रदेशमै पहिलोपटक कोभिड–१९ का बिरामीको उपचार गर्ने अस्पतालको रुपमा धौलागिरी अस्पताल परिचित छ । बागलुङ जिल्लाका ९ पालिकाले ७७ बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याईएका थिए । कोरोनाको प्रभाव घटेसँगै ती सबै संरचनाको जीर्ण भएका छन् ।
प्रकाशित मिति २०८० साउन १४ गते आइतबार ०२:२०




