२०८३ असोज २३ गते शुक्रबार

पोखरामा कर वृद्धिको विरोध

पोखरामा कर वृद्धिको विरोध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन २४ गते बुधबार ०२:२३

पोखरा महानगरले आन्तरिक स्रोतबाट मात्रै यो आर्थिक वर्षमा २ अर्ब २७ करोड ८७ लाख संकलन गर्ने लक्ष्य लिएको छ ।

पोखरा

पोखरा महानगरपालिकाले बढाएको करको विरोधमा प्रदर्शन भएको छ । अस्वभाविक रुपमा बढाइएको कर खारेज गर्न माग गर्दै विरोध प्रदर्शन भएको हो ।

जागरुक नागरिक समाजले बढेको करको दरको विरोध गर्दै चिप्लेढुंगादेखि पोखरा महानगरपालिकाको कार्यालयसम्म ¥यालीसमेत निकाल्यो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई जागरुक नागरिक समाजले ज्ञापनपत्रसमेत बुझाएको छ ।

ज्ञापनपत्रमा अंशवन्डा, सवारी साधन लगायतमा लगाएको कर चर्को भएकाले फिर्ता लिनुपर्ने माग छ । जनता बाँच्नै नसक्ने गरेर मंहगी बढेकाले नियन्त्रणको प्रयास थाल्न अनुरोध गरिएको छ ।

जागरुक नागरिक समाजका अध्यक्ष रामहरि ढुंगानाले वर्तमान परिवेशमा बढाएको कर अव्यवहारिक भएको बताए । करको दर नभएर दायरा बढाउनुपर्ने उनको भनाइ छ ।

‘हिजो जसरी सिंहदरबार घरघरमा आउदैछ भनेर उत्साह उमंग थियो । त्यसैको विपक्षमा स्थानीय सरकारले, प्रदेश सरकारले लगाएको जग्गा कर, सम्पत्ति कर, पेशा व्यवसायीकता फर्म नविकरण कर तिर्न नसक्ने गरेर बढाए’, उनले भने । गतवर्षको भन्दा ४ गुणासम्म कर बढेको उनले सुनाए ।

पोखरा महानगरपालिकाले आर्थिक ऐन २०८०/८१ मार्फत केही शीर्षकमा करको दर वृद्धि गरेको छ । गत आर्थिक वर्षको तुलनामा सम्पत्ति, व्यवसाय, बहाल, भूमिलगायत करको दर वृद्धि गरेको हो ।

व्यवसाय करमा ‘क’ वर्गको वित्तीय संस्था वा वाणिज्य बैंकदेखि सहकारी बैंक शाखा कार्यालयका लागि १० प्रतिशतले वृद्धि गरेको छ । सहकारी संस्थाको व्यवसाय करमा भने १५० प्रतिशतसम्म वृद्धि भएको छ ।

पोखरा महानगरले आन्तरिक स्रोतबाट मात्रै यो आर्थिक वर्षमा २ अर्ब २७ करोड ८७ लाख संकलन गर्ने लक्ष्य लिएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले मालपोत करमा एकरुपता ल्याउन खोजेको बताए । उनले अन्य करमा त्रृति भएको भए सच्चयाउने बताए । विरोधको स्वर सुनिन थालेपछि कार्यपालिका बैठकले अध्ययन गरेको उनले जनाए ।

‘अब हल्लाचाहि निकै धेरै भयो । फेरि राजस्व परामर्श समितिको बैठक बसेर त्यसमा छलफल गरेको छ । त्यसमा कार्यपालिका बैठकमा फेरि हामीले यो ऐजेन्डा राखेर हे¥यौं’, मेयर आचार्यले भने, ‘के भाको हो भनेर राजस्व शाखाका पनि भनेका छौं । प्रतिवेदन आउँदैछ । अघिल्लो वर्ष र अहिलेको हामी तुलना गरेर हेर्छौं । कहाँ कहाँ के भाको लिखित स्टेटमेन्ट जारी गर्छौं । कहीं भ्रम पनि छ । कहीं मिस्टेक सुधार्ने विषय पनि छ ।’

प्रकाशित मिति २०८० साउन २४ गते बुधबार ०२:२३
हजुरको प्रतिक्रिया