पोखरा
सातौं पोखरा स्पोर्ट्स अवार्डबाट १ लाख रुपैयाँ बचत भएको छ । सातौं सस्करणको पोखरा स्पोर्ट्स अवार्ड गत बैशाख २३ गते पोखरामै भएको थियो ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आय व्यय सार्वजनिक गरेको हो । अर्वाडबाट २६ लाख ९९ हजार १२ रुपैयाँ आम्दानी भएकोमा २५ लाख ८७ हजार २ सय ५५ रुपैयाँ खर्च भएको कोषाध्यक्ष कविता घर्ती मगरले जानकारी दिइन् ।
उनका अनुसार १ लाख ११ हजार ७ सय ५७ रुपैयाँ बचत भएको छ ।
वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी र महिलातर्फको पुरस्कार फुटबलकी सावित्रा भण्डारीले अवार्ड प्राप्त गरेकी थिइन् ।
उदीयमान खेलाडीको अवार्ड क्रिकेटका सुवास भण्डारी थापे । वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड आर्चरीका किशोरकुमार गुरुङले बाजी मारे ।
लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङका प्रशिक्षक विद्याप्रसाद मर्सानी, वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघ र वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिएको थियो ।
प्रकाशित मिति २०८० साउन २५ गते बिहीबार ०७:३३