२०८३ असोज २४ गते शनिबार

महिला विश्वकपको फाइनल आज, बेलायत र स्पेन खेल्ने

महिला विश्वकपको फाइनल आज, बेलायत र स्पेन खेल्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ३ गते आइतबार ०७:४१

आठौं सम्मको महिला विश्वकपमा अमेरिकाले ४ पटक, जर्मनी दुई पटक, नर्वे र जापानले एक/एक पटक उपाधि जितेका छन् ।

पोखरा

नवौं संस्करणको महिला विश्वकप फुटबलको फाइनल खेल आज हुँदैछ । विश्वकप उचाल्न होडका साथ स्पेन र बेलायतको महिला टोली आज दिउँसो पौने ४ बजे आमनेसामने हुनेछन् ।

सन १९९१ देखि सुरु भएको महिला विश्वकपको यो संस्करणमा दुबै टोली पहिलो पटक फाइनल पुगेका हुन् । स्पेनले उपाधिकै दाबेदार मानिएको स्वीडेनलाई सेमिफाइनलमा २—१ गोलले हराएर फाइनल यात्रा तय गरेको हो भने बेलायतले आयोजक अष्टेलियालाई ३—१ ले पाखा लगाउँदै स्पेनसँगको भेट पक्का गरेको हो ।एसियाली मुलुक चीनमा सन १९९१ मा पहिलो पटक महिला विश्वकप भएको थियो । पहिलो संस्करणको उपाधि अमेरिकाले जितेको थियो । सन १९९५ मा स्वीडेनमा भएको दोस्रो महिला विश्वकपको उपाधि नर्वेले जित्यो ।

प्रत्येक ४/४ वर्षमा आयोजना हुने तेस्रो महिला विश्वकप अमेरिकामा आयोजना भयो भने उपाधि पनि अमेरिकाले नै जित्यो । चौंथो संस्करण पनि अमेरिकामै आयोजना हुँदा जर्मनीले वल्र्ड कप उचाल्यो । पाँचौ महिला विश्वकप दोस्रो पटक चीनमा आयोजना भएकोमा जर्मनी विजेता बन्यो । छैंटौ संस्करणको महिला विश्वकप जर्मनीले आयोेजना गर्दा एसियाली देश जापानले उपाधि जित्यो ।

सातौं महिला विश्वकप क्यानडा र आठौ संस्करण फ्रान्समा आयोजना हुँदा दुबै पटक अमेरिका विजेता बन्यो । आठौं सम्मको महिला विश्वकपमा अमेरिकाले ४ पटक, जर्मनी दुई पटक, नर्वे र जापानले एक/एक पटक उपाधि जितेका छन् । महिला विश्वकप फुटबल २०२३ को विजेताले १ सय १० मिलियन डलर (१४ अर्ब ४७ करोडरुपैयाँ ) पाउनेछ । पुरूष विश्वकपको भन्दा यो पुरस्कार निकै कम छ । सन २०२२ को पुरुष विश्व कप विजेता अर्जेन्टिनाले ४ सय ४० मिलियन डलर पुरस्कार पाएको थियो ।

 

प्रकाशित मिति २०८० भदौ ३ गते आइतबार ०७:४१
हजुरको प्रतिक्रिया