पोखरा
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानीको वातावरण सुधार गर्नु नै आफ्नो पहिलो प्राथमिकताको विषय भएको बताएका छन् ।
प्रधानमन्त्री दाहालले देशको समावेशी र दिगो रूपमा आर्थिक विकासका लागि एफडीआईलगायत निजी लगानी बढाउन निरन्तर काम गरिरहेको बताए ।
शुक्रवार लगानी बोर्डको वार्षिकोत्सव समारोहलाई सिंहदरबारमा सम्बोधन गर्दै उनले नेपाल लगानीको आकर्षक गन्तव्य भएको सन्देश विश्वभर फैलाएको बताए ।
सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने र सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने लक्ष्य लिएको भएपनि कोभिड महामारी, विश्वव्यापी द्वन्द्व र जलवायु परिवर्तनका कारणले तोकिएको समयसीमाभित्रै आकांक्षाहरू साकार पार्नु प्रमुख चुनौतिको रूपमा रहेको उल्लेख गरे ।
‘नेपाल लगानीको आकर्षक गन्तव्य हो भन्ने सन्देश विश्वभर फैलाएकोमा हाम्रा मूल्यवान लगानीकर्ताहरूलाई विशेष सम्मान गर्न चाहन्छु । यसले हाम्रो आत्मविश्वास बढाएको छ र म विश्वस्त छु कि यसले हामीलाई भविष्यमा थप लगानीहरू प्राप्त गर्न मद्दत गर्नेछ’, उनले भने, ‘आज मैले भन्नैपर्छ, १२ वर्षअघि सन् २०११ मा यस्तो उच्च शक्ति प्राप्त निकायको स्थापना ठूलो मात्रामा लगानीको कुशल सहजीकरणका लागि नेपालको प्रतिबद्धताको प्रमाण हो । पूर्वाधार आयोजनाहरूमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न सरकारले गरेको यो एउटा गम्भीर प्रयास हो ।’
उहाँले व्यवसाय र लगानीको वातावरण सुदृढ गर्न नीतिगत, कानूनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्थामा निरन्तर सुधार गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले संविधानको मर्मअनुसार लगानीमैत्री वातावरण बनाउन सबै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताए ।
प्रकाशित मिति २०८० भदौ २२ गते शुक्रबार ०५:४९




