२०८३ साउन २१ गते बिहीबार

ड्रक एयरको चार्टड उडान भोलि पोखरा आउदै

ड्रक एयरको चार्टड उडान भोलि पोखरा आउदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २२ गते शुक्रबार ०७:२५

मौसममा खराबी नआए शनिबार विहान पौने ७ बजे ड्रक एयरको जहाज पोखरामा अवतरण गर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवचन्द्रलाल कर्णले बताए ।

पोखरा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो अन्तर्राष्ट्रिय उडान हुने भएको छ । शनिबार विहान भुटानको पारो विमानस्थलबाट ड्रक एयरको विमानले चार्टड उडान भर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड हुनेछ ।

मौसममा खराबी नआए शनिबार विहान पौने ७ बजे ड्रक एयरको जहाज पोखरामा अवतरण गर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवचन्द्रलाल कर्णले बताए ।

‘एक घण्टा बसेर जहाज भुटान उड्नेछ’, कर्णले भने । उनका अनुसार पोखराबाट ४२ जना यात्रु लिएर भुटानको उडान भर्नेछ । उताबाट ४ जना यात्रु लिएर पोखरा ओर्लनेछ । पोखरा आएको विमान र यात्रुलाई पोखरा पर्यटन परिषद् स्वागत र विदाइ गर्ने कार्यक्रम छ ।

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय चार्टड उडान भएको यो दोस्रो पटक हो । यसअगाडि चिनको छेन्दुबाट सिचुवान एयरलाइन्सको विमानले चार्टड उडान गरेर अन्तर्राष्ट्रिय उडानको सुरुआत गरेको थियो ।

यसअघि असार ६ गते सिचुआन एयरलाइन्सले चार्टड उडान भरेको थियो । असार ८ र ९ गते पोखरामा पहिलो पटक भएको ‘नेपाल–चीन ड्रागन बोटरेस फेस्टिबल’ मा सहभागी हुन आएका खेलाडी र चिनियाँ पाहुना लिएर आएको जहाज रित्तै फर्किएको थियो ।

पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको पोखरा विमानस्थलबाट यि २ चार्टड उडाज बाहेक घरेलु उडानमै सीमित छ । उद्घाटनको ७ महिनासम्म पनि नियमित अन्तर्राष्ट्रिय उडानको अझै टुंगो छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणमा अन्तर्राष्ट्रिय उडानका लागि पहल थाल्न पोखरेलीले एजेण्डा बनाउन सुझाएका छन् । प्रधानमन्त्री दाहालले पनि पोखरामा भएको समाजवादी मोर्चाको सन्देश सभामा अन्तर्राष्ट्रिय उडान सुरु गर्न चीन भ्रमणको बेला पहल थाल्ने आश्वासन दिएका थिए ।

झन्डै २२ अर्ब रुपैयाँ लागतमा बनेको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु नहुँदा लगानी नै जोखिममा परेको छ ।

प्रकाशित मिति २०८० भदौ २२ गते शुक्रबार ०७:२५
हजुरको प्रतिक्रिया