२०८३ असोज २३ गते शुक्रबार

विद्यालयस्तरीय नाटक महोत्सवमा नाटक ‘शिलान्यास’को पर्दापर्ण

विद्यालयस्तरीय नाटक महोत्सवमा नाटक ‘शिलान्यास’को पर्दापर्ण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २५ गते सोमबार ०५:०६

पोखरा नाटक ‘शिलान्यास’ पोखरामा भदौ २७ गते मञ्चन हुने भएको छ । माटेपानीमा रहेको हिल पोइन्ट माविले तयार पारेको नाटक पोखरामा सुरु हुन लागेको विद्यालय नाटक महोत्सवको उद्घाटन नाटकको रुपमा मञ्चन हुन लागेको हो । नाटक पोखरा थिएटरको...

पोखरा

नाटक ‘शिलान्यास’ पोखरामा भदौ २७ गते मञ्चन हुने भएको छ । माटेपानीमा रहेको हिल पोइन्ट माविले तयार पारेको नाटक पोखरामा सुरु हुन लागेको विद्यालय नाटक महोत्सवको उद्घाटन नाटकको रुपमा मञ्चन हुन लागेको हो ।

नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा बुधबार साढे १ बजे मञ्चन गरिनेछ । भीमनिधि तिवारीले लेखकको नाटक रमेश तिमल्सिनाको निर्देशनमा तयार भएको हो ।

नाटकलाई आर्कषक बनाउँदै दर्शकको माया बटुल्न उनीहरुले रिहर्सलमा धेरै मेहनत गरेका छन् । नाटककार भीमनिधि तिवारीले लेखेको ऐतिहासिक नाटक शिलान्यासलाई कलाको माध्यमबाट प्रस्तुत गर्ने जमर्को गरेको निर्देशक तिमिल्सनाले जनाए ।

चुनौतीबिच सम्भावनाहरूलाई खोज्दै तयार पारेको नाटकलाई आर्कषक बनाउन मेहनत गरिएको उनले खुलाए ।

केही नाटक, फिल्महरूमा अभिनय गरेर कलाकारिता क्षेत्रमा अगाडि बढ्दै गरेको समयमा नाटक निर्देशन आफ्ना लागि सुनौलो अवसर भएको उनको भनाइ छ ।

नाटकमा समाजको चित्रण, पात्र प्रवृति र सत्ताप्राप्तिका लागि हुने सङघर्ष र द्वन्द्व नाटकमा समावेश भएको उनले बताए ।

‘एक ऐतिहासिक क्षण जुन हामीले सुनेको तर देख्न नपाएको कालखण्डलाई सम्झाउनका लागि पनि मैले यो नाटक गर्ने अठोट गरें । मैले लिएको अठोटमा दर्शकले रसास्वादन गर्नुहुने छ भन्ने पूर्ण विश्वास छ,’ उनले भने ।

यो नाटक नाटककार भीमनिधि तिवारीले वि.स. १६१७ मा द्रव्य शाहले गोरखा राज्यको शिलान्यास गरेको सन्दर्भलाई चित्रित गर्दै द्रव्य शाहको ऐतिहासिक घटनाको उल्लेख गरेका छन् ।

श्रृंखलाबद्ध ऐतिहासिक घटना, मनोहर प्रकृतिचित्रण, यथार्थ सामाजिक प्रतिबिम्ब, अलंकारमय प्रवाहशील भाषा र आकर्षक भावव्यञ्जना नाटकमा समावेश गरिएको छ ।

त्यति बेला श्री ५ को सरकार, प्रचार प्रसार मन्त्रालय संस्कृति विभागको अनुरोधमा तिवारीले यो नाटक तयार गरेका थिए ।

सत्ता प्राप्तिका लागि आफ्नाले आफ्नामाथि कतिसम्म राजनीति गर्छन् र सत्यको जित निश्चित हुन्छ भन्ने सन्देश नाटकले दिएको छ ।

नाटक शिलान्यास नाटक मात्र नभई एक इतिहास पनि हो । यो नाटक लेखे बापत तिवारीले सरकारबाट नगद पुरस्कार समेत पाएका थिए ।

विद्यालयका प्रिन्सिपल दिवाकर जैसीले हिल प्वाइन्ट मा।वि।मा अध्ययनरत बच्चाहरुमा पछिल्लो समय नाटकप्रतिको अभिरुचि थपिदै गएको बताए ।

अभिनय मात्र हैन अभिनयका माध्यमबाट सुषुप्त कलात्मकता ब्युँझिएर तिनको सिर्जनाशक्ति पनि बढेको उनको भनाई छ । आफ्नो विद्यालयले प्रस्तुत गर्ने नाटकको आस्वादन फरक हुने उनको विश्वास छ ।

‘हामीले भीमनिधि तिवारीले लेखेको ‘शिलान्यास’ नाटकको तयारी गरिरहेको छ । ऐतिहासिक विषयवस्तु–राजकीय सज्जा, कलात्मक प्रस्तुति एवं परम्परागत ठेट भाषाले यसको आस्वादन धेरै फरक हुने कुरामा विश्वस्त छु,’ उनले भने ।

नाटकमा आशिष लामिछाने, सचिन भित्रकोटी, रोनीक मल्ल, स्यासिन पुन, प्रतीज्ञा कुँवर, कृष गुरूङ, आदित्य लामा गुरूङ, भगवत थापा मगर, स्वरूप सुवेदी, अंकित तिमिल्सिना, आदित्य गुरूङ, अर्पण लामिछाने, आर्यान तिमिल्सिना, प्रमिसा लामिछानेको अभिनय हेर्न पाइनेछ ।

यस्तै नाटकमा एस्लिन गुरूङ, जितेश गुरूङ, सन्देश परियार, सगुन गुरूङ, लियम गुरूङ, यत गुरूङ, मनिस सिग्देल, दिप्सन गुरूङ, जोयान गुरूङ, सुदीप सुनार, सुजन कुँवर, सुजन कार्की, बिनिता बानियाँँ, स्वीकार कट्टेल, युमिका गुरुङ, पवन गुरुङ, हिमाल गुरुङ, प्रत्यूष अधिकारीको अभिनयसमेत नाटकमा रहनेछ ।

नाटकको लागि पोस्टर स्केच अर्जुन खत्रीले तयार पारेका छन् ।

‘शिक्षण विधिको रुपमा विद्यालयमा नाटक’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको महोत्सव संयोजक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । थिएटरले २०७६ मा पहिलोपटक महानगरपालिका स्तरिय विद्यालय नाटक महोत्सव गरेको थियो ।

त्यसपछि गण्डकी प्रदेशस्तरिय विद्यालय नाटक महोत्सव आयोजना गर्यो । लगातार तीन वर्षसम्म प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव आयोजना गरेको थिएटरले यसपटक पोखरा विद्यालय नाटक महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा पोखराका १४ विद्यालयका नाटक र अतिथि नाटकको रुपमा काठमाडौंबाट थप एक नाटक गरेर कुल १५ नाटक मञ्चन हुने आयोजकले बताए ।

महोत्सवको लागि प्रमुख सहकार्य पोखरा प्रज्ञा–प्रतिष्ठान गरेको छ भने गण्डकी प्रज्ञा–प्रतिष्ठान र राइट फर चिल्डेनले सहकार्य गरेका छन् ।

महोत्सवमा मञ्चन हुने सबै नाटक हेर्ने दर्शकको सहजताको लागि १ हजार रुपैयाँ तिरेर सदस्यता लिन सक्ने व्यवस्था मिलाइएको थिएटरका संस्थापक सदस्य दिलप्रसाद गुरुङले जनाए ।

भदौ २७ गतेबाट सूरु हुने महोत्सव असोज १२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति २०८० भदौ २५ गते सोमबार ०५:०६
हजुरको प्रतिक्रिया