पोखरा
लामाचौर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन शुक्रबार पुरुषतर्फका ५ खेल हुने भएको छ । आयोजक नवआदर्श सामुदायिक विकास समाजले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो दिनको पहिलो खेलमा गण्डकी प्रदेश र गल्कोट स्पोर्टस् क्लब भिड्नेछन् ।
दोस्रो खेलमा नेपाल पुलिस क्लबको सामना मणिमुकुन्द भलिबल क्लब बुटवलले गर्नेछ । तेस्रो भिडन्त सशस्त्र प्रहरी बलको एपीएफ क्लब र गल्कोट स्पोर्टस्बीच हुँदा चौथो खेलमा गण्डकी र मणिमुकुन्द आमनेसामने हुनेछन् । अन्तिम खेलमा नेपाल पुलिस क्लब र एपीएफ क्लब मैदान छिर्नेछन् ।
शनिबार महिला, पुरुषतर्फका समान ३/३ खेल हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन भने दोस्रो दिन नै हुने आयोजकले जानकारी दिएको छ ।
आइतबार पुरुषतर्फको २ र महिलातर्फको ३ खेल हुनेछ । अन्तिम दिन सोमबार दुवै विधाको फाइनलसँगै तेस्रो स्थानको खेल हुनेछ ।
राउन्ड रोबिनको आधारमा खेल सञ्चालन हुनेछ । इन्द्र राज्यलक्ष्मी मावि लामाचौरको खेल मैदानमा हुने प्रतियोगितामा महिलातर्फ विभागीय डर्बी नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, न्यू डायमण्ड एकेडेमी र न्यू एभरेष्ट भलिबल क्लब बुटवलले प्रतिस्पर्धा गर्नेछन् ।
गतवर्ष खेलेको गण्डकी प्रदेशको महिला टोली यसपालि सहभागी नहुने भएको छ । यस्तै, विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले महिला पुरुष दुवै विधामा सहभागिता नजनाउने भएको हो ।
पुरुषतर्फ विभागीय डर्बी नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, गण्डकी प्रदेश, मणीमुकुन्द भलिब क्लब बुटवल र गल्कोट स्पोर्र्टस क्लब बाग्लुङ भिडनेछन् ।
दुवै विधाको विजेताले १ लाख ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ लाख १११ रुपैयाँ र तेस्रोले ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
फाइल तस्बिर
प्रकाशित मिति २०८० भदौ २८ गते बिहीबार ०६:४१




