२०८३ असोज २३ गते शुक्रबार

पारस खड्का दशकको उत्कृष्ट एसोसिएट क्रिकेटरको मनोनयनमा

पारस खड्का दशकको उत्कृष्ट एसोसिएट क्रिकेटरको मनोनयनमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर ९ गते मंगलबार ०६:०३

पाेखरा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का 'आइसिसी मेन्स एसोसिएट प्लेयर अफ दि डिकेड' अवार्डको मनोनयनमा परेका छन् । आइसिसीले मंगलबार सार्वजनिक गरेको सूचीमा पूर्वकप्तान खड्का दशकको उत्कृष्ट क्रिकेटरमध्ये...

पाेखरा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का ‘आइसिसी मेन्स एसोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा परेका छन् ।

आइसिसीले मंगलबार सार्वजनिक गरेको सूचीमा पूर्वकप्तान खड्का दशकको उत्कृष्ट क्रिकेटरमध्ये एसोसिएट विधाको मनोनयनमा परेका हुन् ।

राष्ट्रिय टिमका पारससँगै सूचीमा स्टकल्यान्डका रिची बेरिनटन, नेदरल्यान्ड्सका पिटर बोरेन, स्कटल्यान्डका केल कोइजर, स्कटल्यान्डकै कोलम म्याकलियोड र पपुवा एन्ड न्युगिनीका असद भाला परेका छन् ।

आइसिसीले विश्व क्रिकेटका पुरुष तथा महिला खेलाडीलाई सम्मान गर्न विभिन्न विधामा अवार्ड दिँदै आएको छ ।

यो वर्ष आइसिसीले दशकको क्रिकेट खेलाडी (महिला तथा पुरुष), दशकको पुरुष टेस्ट खेलाडी, दशकको एकदिवसीय खेलाडी (महिला तथा पुरुष), दशकको टी–२० खेलाडी(महिला तथा पुरुष), दशकको एसोसिएट खेलाडी (महिला तथा पुरुष)  र आइसिसी स्पिरिट अफ क्रिकेट अफ दि डिकेड विधामा पुरस्कार दिइनेछ ।

 

यो अवार्डको मनोनयनमा परेका खेलाडीलाई भोट गर्न आइसिसीले आफ्नो वेभपोर्टलमा व्यवस्थान गरेको छ ।

अवार्ड आगामी १७ डिसेम्बरमा घोषणा गरिनेछ ।

गत वर्ष पारसले नेपाली टिमको कप्तानी छाडेका थिए । पारसले सन् २००९ को एसीसी टी–२० कपका लागि राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पाएका थिए । उनले तत्कालिक कप्तान विनोद दासको स्थानमा कप्तानी गर्ने अवसर पाएका थिए ।

२२ वर्षको उमेरमा कप्तानीको जिम्मेवारी पाएका पारस नेपाली क्रिकेटका सफल कप्तान  हुन् । उनको नेतृत्वमा नेपालले डिभिजन–५ देखि एकदिवसीय टिम र टी–२० टिमको मान्यता पायो ।

सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपको नेपालको नेतृत्व गरेका पारसले नेपालका लागि एकदिवसीय र टी–२० शतक हान्ने रेकर्ड बनाएका छन् ।

पारसले सन् २००४ मा इन्टरकन्टिनेन्टल खेल मार्फत् नेपालको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । मलेसियाविरुद्धको खेलमार्फत डेब्यू गर्दा पारसले पहिलो इनिङमा ४४ रन  र १ विकेट लिएका थिए । नेपालले ९ विकेटले जितेको खेलमा उनले दोस्रो इनिङमा ब्याटिङ र बलिङ गरेनन् ।

प्रकाशित मिति २०७७ मंसिर ९ गते मंगलबार ०६:०३
हजुरको प्रतिक्रिया