एडीबी कार्यकारी निर्देशक र मेयर आचार्यबीच भेटर्वार्ता
पोखरा
एसियाली विकास बैंकले पोखराको दिगो पर्यटन विकास परियोजनाअन्तर्गत ७ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दैछ ।
उक्त परियोजनाअन्तर्गत विभिन्न १५ वटा योजनाहरु अगाडि सारिएका छन् ।
ती योजनाका लागि एडीबीले पोखरा महानगरमा ७ अर्ब रुपैयाँ खर्च गर्दैछ ।
महानगरका अनुसार हाल एडीबीको लगानीमा हुने १५ वडा परियोजनामध्ये ७ वटा प्रक्रियामा गइसकेका छन् भने अन्य योजनाको अन्तिम टुंगो बाँकी छ ।
यिनै परियोजनाबारे छलफल गर्न एसियाली विकास बैंकका कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोली र पोखरा महानगरका मेयर धनराज आचार्यबीच शनिबार भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा एडिबीको सहयोगमा सञ्चालित सहरी पूर्वाधार र जीवन सुधार परियोजना सहित पोखराको दिगो पर्यटन विकासका सम्भावना लगायत विषयमा छलफल भएको थिए ।
एडीबीले चलाएको परियोजनामा एडिबीले ७५ प्रतिशत र २५ प्रतिशत भने नगर विकास कोष (टिडिएफ) र पोखरा महानगरपालिकाले सयुंक्त रूपमा लगानी गर्नेछन् ।
तालदेखि ताल जोड्न साइकल ट्रयाक
एडिबीकै सहयोगमा लेक टु लेक (तालदेखि ताल) साइकल ट्रयाक र फेवाताल सुधार परियोजना समेत सञ्चालनको क्रममा छ ।
परियोजना अनुसार ९ वटा ताल र १८ वटा वडाहरूलाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्र्याक निर्माण हुनेछ ।
फेवाताल सुधार परियोजना अन्तर्गत बसाइँ व्यवस्थापन, शौचालय, वाटर फाउन्टेन, वाटर स्प्रिङ प्रोटेक्सन, इन्फरमेसन बोर्ड, डाइरेक्सन बोर्ड, साइकल पार्किङ, सर्भिस पोइन्टसहित साइकल स्ट्यान्डहरूको निर्माण गरिने महानगरको भनाइ छ ।
यसमा ३.०५ मिलियन अमेरिकी डलर खर्च हुनेछ ।
महानगरका अनुसार एडीबीकै लगानीमा रानीवन इको ट्रेल र फेवाताल सुधार परियोजना अन्तर्गत ड्यामसाइडबाट रानीवनलाई सिसाको पुलले जोड्ने, शान्ति स्तूप र फेवातालको परिधिलाई एकीकृत रूपमा जोड्दै रानीवनबाट इको ट्रेल विकास गरिने भएको छ ।
‘इको रुटमा विश्राम स्थल, शौचालय, धारा, मन्दिर जीर्णोद्धार, सूचना बोर्ड लगायत सार्वजनिक सुविधाहरू समावेश हुनेछन्,’ मेयर धनराज आचार्यले भने, ‘यसमा ५.६३ मिलियन अमेरिकी डलर खर्च हुनेछन् ।’
त्यस्तै परियोजनाअन्तर्गत नै शान्ति वन बाटिका बोटानिकल गार्डेन निर्माण हुनेछ ।
उक्त योजनाअनुसार पार्कमा जडीबुटी बगैँचा, पैदल मार्ग, टिकट काउन्टर, विश्राम स्थल, पिकनिक सेड, ध्यान केन्द्र, कम्पाउन्ड वाल, फेन्सिङ, एप्रोच रोड लगायत निर्माण हुनेछ ।
सम्पदा संरक्षणमा पनि एडीबीकै लगानी
त्यस्तै एडीबीकै अर्को परियोजनाले पोखराका पुराना सम्पदाको संरक्षणलाई जोड दिएको छ ।
हाल पोखरा वडा नम्बर २, ३, ४ मा रहेका पुराना शैलीका कलात्मक भवन तथा मन्दिरहरूको संरक्षणका लागि यो परियोजना लागू गरिने महानगरले जनाएको छ ।
रामकृष्ण टोललाई पोखरा हेरिटेज साइटका रूपमा विकास गर्दै एक प्रमुख पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गरिने उक्त परियोजनाको योजना छ ।
‘यसले पुरानो पोखराको सहरी पुनरुत्थान सहित सिद्दार्थचोकदेखि विन्ध्यवासिनी सम्म १.५ कि.मि सडकको स्तरोन्नति र फुटपाथ निर्माण गर्नेछ,’ महानगरले भनेको छ ।
यसका लागि एडिबीले १.९८ मिलियन अमेरिकी डलर खर्च गर्नेछ ।
एडीबीले सहिद चोक–तीनकुने–राधाकृष्ण मार्ग–एसओएस–घले चोक–हरियो खर्क–पीआईए ८.८ किलोमिटर सडक सुधार योजनालाई अन्तिम रूप दिइएको छ ।
यसका लागि ५.३४ मिलियन अमेरिकी डलर खर्च हुनेछ ।
पञ्चासे पारिस्थितिक विकास र पहुँच परियोजना अन्तर्गत दमदमेदेखि भन्ज्याङसम्मको १३ किलोमिटर सडक कालोपत्रे, भन्ज्याङदेखि पञ्चासेसम्म बाटोको स्तरोन्नति, सुविधासहितका सर्भिस प्वाइन्टहरू स्थापना, विद्यमान होमस्टेको एकीकृत प्रवद्र्धन योजना र गुरुङ संग्रहालयको संरक्षणका लागि ३.०५ मिलियन अमेरिकी डलर खर्च हुनेछ ।
पञ्चासे सय भन्दा बढी प्रजातिका अर्किड र पोखरीहरू रहेको एक प्रसिद्ध तीर्थस्थल र संरक्षित वन क्षेत्र हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्मको सडक स्तरोन्नतिका २ मिलियन अमेरिकी डलर खर्च गर्नेछ ।
उक्त योजनाको प्राविधिक, वातावरणीय र आर्थिक सम्भाव्यता प्रतिवेदन तयार भइसकेको मेयर धनराज आचार्यले जानकारी दिए ।
साथै एडीबीलेसाबिक लेखनाथ नगरपालिकाको कार्यालय रहेको स्थानमा महनगरस्तरिय विपद् व्यवस्थापन केन्द्र स्थापना गर्न १ मिलियन अमेरिकी डलर, पोखरा ३२ मा पोखरा प्रवेश पार्क बनाउन ५ मिलियन अमेरिकी डलर खर्च गर्नेछ ।
‘एडीबीका परियोजनाहरू तोकिएकै समयमा सम्पन्न गर्न महानगर प्रतिवद्ध छ,’ एडीबी प्रतिनिधिसँग भेटका क्रममा उनले भने ।
प्रकाशित मिति २०८० भदौ ३१ गते आइतबार १०:५८




