पोखरा
पोखरामा जारी लामाचौर भलिबल कप महिला पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ गल्कोट स्पोर्टस क्लब र महिलातर्फ एभरेष्ट भलिबल क्लब जीत विहीन बनेका छन् ।
आइतबार तेस्रो खेलमा एभरेष्ट भलिबल क्लब विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग ३–० को सोझो सेटमा पराजीत भएको हो । एपीएफले क्रमशः २५–१६, २५–१४ र २५–१७ को जीत निकालेको छ ।
यसअगाडि एभरेष्ट पहिलो खेलमा न्यु डायमण्डसँग र दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पनि ३–० को सोझो सेटमा पराजित हुँदै अंकविहिन बनेको छ ।
डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्बलले न्यु डायमण्डलाई ३–२ को सेटमा पराजित गर्न सफल भएको छ । पहिलो सेट डायमण्डले २५–१८ को जित निकाल्दा दोस्रो र तेस्रो सेट पुलिसले क्रमशः २५–२०, २५–१४ जित दर्ता गरायो ।
चौथो सेटमा २५–११ को जीत निकालेको डायमण्डलाई पाँचौ सेटमा पुलिसले १५–१२ मा रोकेको हो ।
पुरुषतर्फको खेलमा गल्कोट स्पोर्टस् क्लब आइतबार पनि जितको खाता खोल्न सकेन । नेपाल पुलिस क्बलसँग ३–० को सोझो सेटमा रोकिदै गल्कोट प्रतियोगितामा जितविहीन बनेको हो ।
गल्कोटको विरुद्ध मैदान उत्रिएको पुलिसले २५–१८, २५–२१ र २५–१४ अंकका साथ तीनै सेटमा जित हासिल गरेको हो ।
विभागीय टोली एपीएफसँग आमनेसामने भएको गण्डकी प्रदेशले ३–१ को जित निकालेको छ । घरेलु दर्शकको भरपूर साथ पाएको गण्डकी पहिलो सेटमा २५–२३ मा रोकियो । दोस्रो सेटमा २५–२३, तेस्रो सेटमा पनि २५–२३ र चौथो सेटमा २५–१९ को जीत निकालेको हो ।
गण्डकीले पहिलो खेलमा गल्कोटलाई पराजित गरेको थियो भने दोस्रो खेलमा मणिमुकुन्द भलिबल क्लबसँग पराजित भयो । तेस्रो खेलमा एपीएफ विरुद्धको जीत निकालेको छ । अब सोमबार गण्डकीले अर्को विभागीय टोली नेपाल पुलिस क्बलको सामना गर्नेछ ।
असोज १ गतेसम्म सक्ने भनिएको भलिबल प्रतियोगिता थप एक दिन लम्बिने देखिन्छ । महिलातर्फको फाइनल खेल सोमबार हुनेछ ।
राउण्ड रोबिनको आधारमा खेल चलिरहेको छ । महिलातर्फ ४ र पुरुषतर्फ ५ टोली सहभागी छन् ।
नवआदर्श सामुदायिक विकास समाजले आयोजना गरेको महिला पुरुष भलिबल प्रतियोगिताको दुवै विधाका विजेताले १ लाख ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
दोस्रो हुनेले १ लाख १११ रुपैयाँ र तेस्रोले ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रकाशित मिति २०८० भदौ ३१ गते आइतबार ०७:२७




