पोखरा
घरेलु टिम गण्डकी प्रदेशले लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि जितेको छ ।
मंगलबार फाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–२ सेटमा हराउँदै गण्डकीले उपाधिसहित १ लाख ५० हजार रुपैयाँ हात पारेको हो ।
लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी मावि परिसर भलिबल कोर्टमा भएको फाइनलमा पहिलो सेट २५–२३ ले जित्दै अग्रता लिएको पुलिसले दोस्रो सेट भने गुमाउन पुग्यो ।
गण्डकी २५–१९ ले जितेर बराबरी खेल्यो ।
तेस्रो सेट भने पुलिसले आफ्नो पक्षमा पा¥यो । उसले २५–२१ मा जिते पनि पछिल्ला २ सेट गुमाउँदा उपाधिबाट वञ्चित बनेको हो ।
चौंथो सेट जितेर उपाधि जित्ने दाउमा रहेको पुलिसले २३–२० को स्थितिको लय गुमाउँदै गण्डकीलाई जित सुम्पेको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा गण्डकीले २८–२६ मा चौंथो सेट जित्नुका साथै अन्तिम सेट भने सहज १५–११ मा कब्जा जमायो ।
लाइट प्रोटेस्टका कारण सोमबारको फाइनल १–१ सेटको बराबरीपछि मंगलबारका लागि सरेको थियो ।
उपविजेता बनेको विभागीय टिम नेपाल पुलिस क्लबले १ लाख रुपैयाँ हात परेको छ ।
गत वर्ष पनि नेपाल पुलिस क्लब र गण्डकीको टोली नै फाइनल पुगेका थिए ।
तर, लगातार वर्षाका कारण खेल रोकिएपछि पुरस्कार बाँडेका थिए ।
प्रतियोगितामा गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
यस्तै गण्डकीका हरि पाण्डे (वेस्ट ब्लकर), किरण गुरुङ (वेस्ट स्पाइकर) र रमेश केसी (वेस्ट कोच) बने ।
पुलिसका कुलबहादुर थापा (वेस्ट सर्भर), अभिषेक थापा (वेस्ट सेटर) र भीम गाहा (वेस्ट लिबेरो) घोषित भएको रेफ्री टहलसिंह थापाले बताए ।
महिलातर्फ पुलिस विजयी
पुरुषतर्फ उपविजेतामा सीमित भए पनि नेपाल पुलिस क्लबले महिलातर्फको उपाधि जितेको छ ।
सोमबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिका न्यु डायमन्डलाई ३–१ सेटमा हराउँदै उपाधि जितेको हो ।
लिग चरणका सबै खेलमा अपराजित यात्रा कायम गरेको पुलिसले डायमण्डमाथि फाइनलमा १८—२५, २५—२२, २५—१४ र २५—२० सेटको जित निकाल्दै १ लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ ।
उपविजेताले १ लाख पायो ।
गत वर्ष पनि नेपाल पुलिसले न्यु डायमन्ड एकेडेमीलाई फाइनलमा सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको थियो ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २५ औं संस्करणको लामाचौर तीज महोत्सव अन्तर्गत १० औं संस्करणको लामाचौर राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिएका थिए ।
प्रकाशित मिति २०८० असोज २ गते मंगलबार ०१:३८




