२०८३ कात्तिक ११ गते मंगलबार

प्रष्ट नीति नहुँदा २२ जना कर्मचारीकाे नियुक्ति र सेवासुविधा राेकियाे

प्रष्ट नीति नहुँदा २२ जना कर्मचारीकाे नियुक्ति र सेवासुविधा राेकियाे

विकास मगर

@@bikashh1997

२०८० असोज ४ गते बिहीबार ०६:००

पोखरा गण्डकी प्रदेश सामाजिक तथा स्वास्थ्य मन्त्रालयले संक्रामक तथा सरुवा रोगअस्पतालमा कार्यरत पुराना कर्मचारीसम्बन्धी आवश्यक नीति नबनाउँदा त्यहाँ कार्यरत २२ जना कर्मचारी सेवासुविधाबाट वञ्चित भएका छन् । गण्डकी प्रदेश सरकारले...

पोखरा

गण्डकी प्रदेश सामाजिक तथा स्वास्थ्य मन्त्रालयले संक्रामक तथा सरुवा रोगअस्पतालमा कार्यरत पुराना कर्मचारीसम्बन्धी आवश्यक नीति नबनाउँदा त्यहाँ कार्यरत २२ जना कर्मचारी सेवासुविधाबाट वञ्चित भएका छन् ।

गण्डकी प्रदेश सरकारले लेखनाथ लायन्स सामुदायिक अस्पताललाई २०७७ साल साउन १ गतेदेखि आफ्नो मातहतमा ल्याउँदै संक्रामक तथा सरुवा रोग अस्पताल बनाएको थियो ।

तर, तत्कालीन लायन्स अस्पतालबाटै सेवारत कर्मचारी व्यवस्थापन नहुँदा उनीहरुले नियुक्ति नपाएका हुन् ।

नियुक्ति पत्र नभएकै कारण उनीहरुले साउनयता तलबसमेत नपाएको गुनासो गरेका छन् ।

आफूहरुले लामोे समयदेखि उक्त अस्पतालमा सेवा गरेको तर, अहिले बद्नियतपूर्वक हटाउन खोजिएको त्यहाँका कर्मचारीले आरोप लगाएका छन् ।

सुरुदेखि नै पटकपटक नियुक्ति पत्र माग गर्दासमेत नदिइएको उनीहरुको भनाइ छ ।

‘कहिले पत्र आएको छैन भन्नुहुन्छ, कहिले फाइल नै हरायो भन्नुहुन्छ,’ तत्कालीन लेखनाथ लायन्स सामुदायिक अस्पतालदेखि नै कार्यरत एक कर्मचारीले भने, ‘फाइल मन्त्रालयमै अड्काइयो, हामीलाई यता न उताको बनाइयो ।’

नियुक्तिबिना तलब तथा अन्य सेवासुविधा भुक्तान नगर्न प्रदेश सामाजिक तथा स्वास्थ्य मन्त्रालयले साउन ८ गते अस्पताललाई पत्राचार गरेको थियो ।

मन्त्रालयले तलब रोक्न निर्देशन दिएपछि अस्पतालका पुराना कर्मचारीले तलब नपाएका हुन् ।

अस्पताल प्रमुख विकास गौचन कर्मचारीसम्बन्धी प्रष्ट नीति नहुँदा नियुक्ति दिन नसकिएको बताए ।

उनले नियुक्ति कसले दिने र कति समयका लागि दिने भन्नेबारे कानुनी जटिलता भएकै कारण नियुक्त गर्न नसकिएको जानकारी दिए ।

‘नियुक्ति कसले दिने ? कति समयका लागि दिने ठ्याक्कै कानुनी जटिलता छ,’ उनले भने, ‘नियुक्तिसम्बन्धी प्रष्ट नीति नहुँदा अस्पतालका कर्मचारी व्यवस्थापन गर्न उल्झन छ ।’

तर, त्यहाँ कार्यरत कर्मचारी व्यवस्थापनका लागि तत्काल अधिकार प्रत्यायोजन गरिदिन प्रदेश सरकारलाई पत्राचार गरिसकिएको डा गौचनको भनाइ छ ।

यता, मन्त्रालयका सचिव विनोदविन्दु शर्माले सामान्य समस्या भएकाले उनीहरुले चाँडै नियुक्ति पत्र पाउने जानकारी दिए ।

नयाँ आर्थिक वर्षका कारण तलब रोकिएको र चाँडैे भुक्तान हुने आश्वासनसमेत दिएका छन् ।

‘साउनमा नयाँ आर्थिक वर्ष सुरु भएर तलब ढिलो गएको हो । उहाँहरुले पाइराख्नुभएको छ,’ डा शर्माले भने, ‘यो खासै ठूलो समस्या हो भन्ने मलाई लाग्दैन । नियुक्ति पत्र पनि चाँडै पाउनुहुन्छ । बाँकी कुरो के हो बुझ्नुपर्छ ।’

प्रकाशित मिति २०८० असोज ४ गते बिहीबार ०६:००
हजुरको प्रतिक्रिया