पोखरा
नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा बुधबार मतदान हुने भएको छ । मंगलबार प्रकाशित निर्वाचन तालिका अनुसार बुधबार १ बजेदेखि मतदान सुरु हुनेछ ।
सोमबारदेखि जारी अधिवेशनमा साँझदेखि पोखरा सभागृहमा बन्दसत्र चलिरहेको छ ।
अहिले ३ बजेदेखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए ।
६ देखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ । साढे ७ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ ।
साढे ७ देखि साढे ८ सम्म उजुरी उपर छानविन र निर्णय गरिनेछ । ९ बजेसम्म उम्मेदवारको पुनः नामावली प्रकाशनको तालिका छ ।
बुधबार विहान १० बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले प्रस्तुत राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन उपर छलफल चलिरहेको छ ।
८ समूह बनाएर प्रतिवेदनमाथि सुझाव दिइरहेका छन् । गण्डकीका ११ जिल्ला र जनसंगठनबाट ९ सय ७ प्रतिनिधि सहभागी छन् ।
गण्डकीको अधिवेशनमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको प्रतिष्ठाको लडाइ पक्का छ ।
गुरुङ हालका अध्यक्ष नवराज शर्मा दोहो¥याउन चहान्छन् भने खगराज पक्षबाट केन्द्रीय सदस्य मायानाथ अधिकारी उम्मेदवार बन्ने करिब निश्चित छ ।
केन्द्रीय सदस्य कास्कीका राजीव पहारी, बागलुङका जिल्ला अध्यक्ष हिराबहादुर केसी, तनहुँका पूर्वसांसद सदस्य केदार सिग्देल, स्याङ्जाका सोभियत ढकालले प्रदेश अध्यक्षका आकंक्षी हुन् ।
गुट नै बनाएर चुनावी मैदानमा उत्रिदा उनीहरुको इच्छाले काम गर्ने छैन ।
गण्डकीमा स्थायी कमिटी सदस्य किरण गुरुङ र सचिव पद्मा अर्याल कस्को पक्षमा खुल्छन् त्यसले प्रभाव पार्नेछ ।
प्रकाशित मिति २०८० असोज १६ गते मंगलबार ०३:०२




