प्रचण्डकाे प्रस्ताव झुटकाे पुलिन्दा हाे - ओली
काठमाडौं । मंसिर १८ मा स्थायी कमिटी र मंसिर २५ मा केन्द्रीय कमिटी बैठक बस्नेगरि नेकपा सचिवालयकाे बैठक सकिएकाे छ ।
आज बसेकाे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ पेजको जवाफी प्रतिवेदन पेश गरेका छन् । प्रधानमन्त्री ओलीले पेस गरेको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ ।
शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफ्नो प्रतिवेदन पेश गर्दै अर्का अध्यक्ष पष्पकमल दाहाल प्रचण्डले यसअघि पेश गरेको प्रतिवेदन झुठको पुलिन्दा भन्दै फिर्ता लिन आग्रह गरेका छन् ।
‘यो झठको पुलिन्दा हो यो तुरुन्त फिर्ता गर्नुपर्छ’, ओलीले प्रतिवदन पेश गर्दै भनेका थिए । ओलीले बोलेपछि बोलेका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदन झुठको पुलिन्दा नभएर यथार्थ भएको भन्दै प्रतिवेदन फिर्ता नगर्ने बताएका छन् ।
बरिष्ठ नेता झलनाथ खनालले पनि पार्टीको अघिल्लो बैठकमा प्रचण्डले पेश गरेको प्रतिवेदन र अन्य जेजे डकुमेन्ट पेश भएका छन् ती पार्टी सम्पति भएको भन्दै ती कसैले फिर्ता गर्नु भनेर फिर्ता नहुने बताएका थिए ।
उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ । ओलीको प्रस्ताव खाममा राखेर सचिवालय सदस्यहरुलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ कै सचिवालय बैठकमा छुट्टै प्रस्ताव पेस गरेका छन् ।
दुवै प्रस्तावको अध्ययन गरेर अर्को बैठक बस्नेगरी सचिवालय बैठक सकिएको प्रवक्ता श्रेष्ठले बताए । पत्रकारहरुसँग प्रवक्ता श्रेष्ठले बैठकमा दुई अध्यक्षसहित नेताहरुले आफ्नो धारणा राखेको बताए । ‘पार्टीलाई विभाजन तर्फ जान नहुनेमा नेताहरुले जोड दिनुभएको छ’, श्रेष्ठले भने ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेकाे प्रतिवेदनका लागि यहाँ हेर्नेुहाेस् ।
प्रकाशित मिति २०७७ मंसिर १३ गते शनिबार ०५:०४




