पोखरा
पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा मंगलबारदेखि वार्षिक खेल गतिविधि सुरु भएको छ । तीनदिनसम्म चल्ने खेल गतिविधिमा विभिन्न खेलकुद प्रतियोगिता संचालन हुनेछन् ।
गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ र विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले वार्षिक खेल कार्यक्रमको उद्घाटन गरेका थिए ।
विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार तीनदिने खेल गतिविधिमा ब्याडमिन्टन, टेवलटेनिस, भलिवल र बास्केटबलका प्रतियोगिता संचालन हुनेछन् । कक्षा ११ र १२ का छात्र तथा छात्राले विभिन्न समूह बनाएर प्रतिश्पर्धा गर्ने सापकोटाले बताए ।
प्राचार्य सापकोटाले विद्यालयले हरेकवर्ष यस्तै कार्यक्रम आयोजना गर्दै आएको बताए । प्रमुख अतिथि गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले नयाँ र प्रतिभावान खेलाडी उत्पादन गर्न विद्यालयमा हुने यस्ता गतिविधिले सघाउने बताए । खेलकुद मार्फत आत्मियता पनी बढाउने उनले बताए ।
विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलले प्रतिभाले खेलकुदको क्यालेन्डर नै बनाएर खेल गतिविधि गर्दै आएको बताए ।
प्रकाशित मिति २०८० असोज ३० गते मंगलबार ०५:०८




