नवलपरासी
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा मंसिर १ गते देखि प्रथम नवलपुर मगर सांस्कृतिक कृषि पर्यटन तथा व्यापारिक महोत्सव २०८० हुने भएको छ । नेपाल मगर संघ नवलपुर जिल्ला समन्वय समितिको आयोजनामा मंसिर १ देखि ११ गतेसम्म महोत्सव हुन लागेको हो । शुक्रबार कावासोतीमा पत्रकार सम्मेलन मार्फत जिल्लामा नै पहिलो पटक आदिवासी जनजाति भित्रका मगर समुदायको आफ्नो परम्परागत संस्कार, संस्कृति जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष भुम राइ मगरले बताए ।
विगतमा कहिले होटल व्याबशायी संघ त कहिले उद्योग बाणिज्य संघले आयोजना गर्दे आएको नवलपुर सदरमुकामको महोत्सब यसपाली मगर संघ नवलपुरले आयोजना गर्न लागेको हो ।
मगर संस्कृतीलाई मध्यनजर गर्दे सबै जनजातीको सांस्कृतीक पहिचान झल्किने झ्याउरे , कौराह, सालैजु , सोरठी , मगर समुदायको घाटु नाच जस्ता विविध परम्परागत सांस्कृतिक नृत्यहरूको प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाहरूको प्रस्तुति हुनेछ । यस्तै मगर पहिचान झल्किने संरचनाहरू तयार गरी मगर सुमदायका परिकारहरूको प्रदर्शनी , मौलिक भेषभूषा सहित बाजागाजा सहित कावासोती नगरपरिक्रमा, औद्योगिक प्रदर्शनी ,कृषि प्रदर्शनी र बाल उद्यान, विद्यालय स्तरीय विज्ञान प्रदर्शनी लगायतका आर्कषणहरू रहने नेपाल मगर संघ नवलपुरका सचिव नम्सु सुनारी मगरले बताए ।
मेलामा ५५ हजार जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सव कावासोती नगरपालिका ८ स्थित लुम्वीनि क्याम्पस पछाडिको खेल मैदान हुनेछ ।
प्रकाशित मिति २०८० कात्तिक ४ गते शनिबार ०१:५०




