पोखरा
पोखरामा सातौँ संस्करणको गोदावरी पुष्प प्रदर्शनी तथा चौंथो गण्डकी प्रादेशिक पुष्पमेला सुरु भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) कास्कीले आयोजना गरेको पुष्पमेला शुक्रबारदेखि सुरु भएको हो ।
मेलाको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे । उनले पुष्प व्यवसायको प्रबद्र्धनमा महानगरपालिका प्रतिबद्ध रहेको बताए ।
‘पोखरालाई आवश्यक पर्ने फूल उत्पादन बढाउन लगानीको सहकार्य गर्न महानगर तयार छ’, उनले भने ।

पुष्पमेलामा विभिन्न २० प्रजातिका फूलको स्टल राखिएको छ । २ वटा स्टल कृषि सामाग्रीका छन् । पोखरा रंगशालामा सुरु पुष्पमेला सोमबारसम्म चल्नेछ ।
यसैबिच पोखरा महानगरपालिकाले बाहिरका फूल आयातमा प्रतिबन्ध लगाएको छ । महानगरले शुक्रवार सूचना जारी गरी स्थानीय फूल मात्रै बिक्री वितरण र उपभोग गर्न अनुुरोध गरेको हो ।
पोखरामा यस वर्ष स्थानीय पुष्प व्यवसायीहरूसँग सहकार्य गरी थप १६५ रोपनी क्षेत्रफलमा सयपत्री फुलखेती गरिएको महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।
पोखरामा वार्षिक झन्डै ४ करोड रुपैयाँभन्दा बढीको फूलको कारोबार हुने तथ्याङक छ । त्यसको करिब ४० प्रतिशतभन्दा बढी फूल आयत हुने गर्छ ।
प्रकाशित मिति २०८० कात्तिक १७ गते शुक्रबार ०६:२९




