पोखरा
पोखराको भलाममा खुला सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । शृंखला युवा क्लबको आयोजना आठौं संस्करणको प्रतियोगिता शनिबारदेखि सुरु भएको हो ।
उद्घाटन खेलमा रमाइलो एफसीलाई ८–० को फराकिलो अन्तरले पाखा लगाउँदै शृंखला ‘ए’ ले सुखद सुरुवात गरेको छ ।
दोस्रो खेलमा टाइब्रेकरमा एकता युवा क्लबले जिपिटिओ ‘ए’ ३–२ को अन्तरमा पाखा लगायो ।
अन्तिम खेलमा तिमिल्सिना एफसी शृंखला युवा क्लब ‘बि’ विरुद्ध मैदान उत्रिएको थियो । शृंखला ‘बि’ लाई ४–० को अन्तरमा पराजित गर्दै तिमिल्सिना अघिल्लो चरणको यात्रा तय गर्न सफल भएको हो ।
आइतबार ६ खेल हुने प्रतियोगिताका व्यवस्थापक रमेश केसीले जानकारी दिए । ३४ समूह सहभागि प्रतियोगिताको फाइनल खेल आगामी शुक्रबार हुनेछ ।
विजेताले १ लाख ३१ हजार १ एक सय २१ रुपैयाँ पाउनेछ । उपविजेताले ६५ हजार १ सय ६१ रुपैयाँको साथमा सिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।
शनिबार प्रतियोगिताको उदुघाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले खेलकुद क्षेत्रलाई व्यवसायीक बनाउनुपर्ने बताइन् । निजी क्षेत्रलाई खेलकुदमा प्रवेश गर्न दिन नहुने उनको भनाइ छ ।
गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले खेलकुदले युवालाई समृद्धि र समाजसँग एकाकार बनाउने उल्लेख गरे ।
क्लबका अध्यक्ष दिनेश बस्नेतले खेलमार्फत सामाजिक विकास र समाजमा सकारात्मक परिवर्तन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
प्रकाशित मिति २०८० कात्तिक १८ गते शनिबार ०७:१५




