पोखरा
पोखरा–२९ स्थित दृष्टिविहीन आश्रम जलेपछि आफूहरु बिचल्ली परेको त्यहाँ आश्रित दृष्टिविहीनहरुले दुखेसो पोखेका छन् ।
बुधबार राति दृष्टिबिहीनहरुले आश्रय लिएको आश्रम जल्दा बेच्नका लागि ठिक्क पारिएका विभिन्न सामाग्री, नगद र लत्ता कपडासमेत जलेर नष्ट भएको थियो ।
आश्रम जलेपछि दृष्टिबिहीन युवाहरुले आफूहरुले कमाएको सम्पत्तिसँगै अब के गर्ने भन्ने योजनासमेत अन्योलमा परेको प्रतिक्रिया दिएका छन् ।
अगरबत्ती, सरफ, हर्पिक, सिसाकलम, नगद र लत्ताकपडासमेत जलेपछि अब कसरी अगाडि बढ्ने भन्ने नै अन्योल भएको आश्रमकी कञ्चन चौधरीले बताइन् ।
घरको अवस्था कमजोर भएकाले आफैंले घरको खर्च जोहो गर्ने गरेको सुनसरीकी कञ्चन चौधरीको भनाइ थियो । अब घर खर्च कसरी जोहो गर्ने र कता जाने भन्ने अन्योल भएको दुखेसो कञ्चनले व्यक्त गरिन् ।
२०७४ सालदेखि सञ्चालनमा आएको आश्रममा बाहिरबाट सामान ल्याएर दृष्टिबिहीन युवाहरुले विभिन्न ठाउँमा पु¥याएर बेच्ने गरेका थिए ।
मागेर खानुभन्दा श्रम गरेर खानुपर्छ भन्ने मान्यताले दुख परेर जीवन धानेका दृष्टिबिहीनहरु अहिले समान जलेपछि मारमा परेका छन् ।

सामान ल्याएको ठाउँमा पैसा तिनै बाँकी रहेको, नगदै ७ लाख जलेको र चप्पल बनाउने मेसिनसमेत नष्ट भएको सञ्चालकसमेत रहेका कास्कीका सुशील गोदारको गुनासो छ ।
‘गासै जल्यो, बासै जल्यो, मागेर खानुभन्दा श्रम र सीपबाटै जिविका चलाउन सकियोस्, त्यसैले भनेको छु, हिम्मत नजलोस्,’ गोदारले भन्छन्, ‘मनकारीको सहयोग र हाम्रै हिम्मतले फेरि जीवन गुजार्ने बाटो निरन्तर हिँड्ने छौं ।’
अरुबेला ३० जनासम्मले आश्रय लिने आश्रममा यतिबेला करिब १८ जना थिए । सानोतिनो उद्यमसँग पनि जोडिने र संगीत पनि सिकाउने उद्धेश्यले आश्रममा आएका स्याङ्जा आँधिखोलाका होमनाथ पौडेल बाद्यवादनका सामाग्री नै जलेपछि मर्कामा परेका छन् ।

सामान बेच्ने, बचत गर्ने र भाडा तिर्नेदेखि घर खर्च चलाउनेसम्मका काम गर्ने आश्रम नै जलेपछि विक्षिप्त बनेको कञ्चनपुरका राजकुमार चौधरीले सुनाए ।
दिनभर हिँडेर आएर बस्ने आश्रममा सामानसहित जीवनको गुजारा चलाउने सामाग्री नै जलेको राजकुमारले बताए ।
आश्रम जले पनि आफूहरुले हिम्मत नहारेको र फेरि मनकारीहरुको सहयोग तथा सामान बेचेरै जिविको धान्ने उनीहरुको विश्वास छ । स्थानीयहरुले पनि सहयाेग गरेका छन् भने केही मनकारीले ब्लांकेट र रासनपानीसमेत सहयाेग गरेका छन् ।
प्रकाशित मिति २०८० मंसिर १ गते शुक्रबार ०८:१९




