पोखरा
आइसिसी विश्वकप क्रिकेटको उपाधिका लागि आज घरेलु टोली भारत र अष्ट्रेलियाबीच हुँदैछ । भारत २ पटकको विजेता हो भने अष्ट्रेलिया ५ पटकको विजेता हो । नरेन्द्र मोदी स्टेडियम अहमदावादमा हुने फाइनल खेल दिउँसो सवा २ बजे सुरु हुनेछ । जारी विश्वकपमा उच्च लयमा रहेको भारत त्यसैलाई निरन्तरता चाहन्छ भने लिग चरणमा भोगेको हारको बदला लिँदै अष्ट्रेलिया घरेलु टोलीलाई फाइनलमा पराजित गर्ने दाउमा छ ।
५ पटकको विजेता अष्ट्रेलियाले विश्वकप फाइनल खेल्न लागेको यो आठौं पटक हो । २ पटक उपाधि जितिसकेको भारतका लागि यो चौंथो विश्वकप फाइनल हो । भारतले न्युजिल्यान्डलाई र अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनल यात्रा पूरा गरेका हुन् विश्वकपको फाइनलमा दुई देशबीच सन् २००३ मा मात्रै खेल भएको थियो । त्यो खेल अष्ट्रेलियाले जितेको थियो ।
भारत र अष्ट्रेलियाबीच अहिलेसम्म १ सय ५० वटा एकदिवसीय खेल भएकोमा अष्ट्रेलियाले ८३ वटा खेल जितेको छ । भारतले जम्मा ५७ वटा जितेको छ । विश्वकपमा भारत र अष्ट्रेलियाबीच १३ पटक खेल भएकोमा आठ पटक अष्ट्रेलियाले र पाँच पटक भारतले जितेको छ । यो विश्वकपमा भारत अहिलेसम्म अपराजित रहेको छ । अष्ट्रेलिया भने समूह चरणमा भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।
प्रकाशित मिति २०८० मंसिर ३ गते आइतबार ०८:३२




