२०८३ असोज २४ गते शनिबार

केपी ओली टि–२० क्रिकेटः १२ टोलीको सहभागिता, विजेतालाई ५ लाख

केपी ओली टि–२० क्रिकेटः १२ टोलीको सहभागिता, विजेतालाई ५ लाख

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर ५ गते मंगलबार ०३:५७

‘२ वर्षमा या वर्ष दिनमा गर्ने भन्ने टुंगो लाग्न बाँकी छ । फरक फरक ठाउँमा हुनेछ’, उनले भने, ‘पुरस्कार राशी पनि वर्षेनी बढ्नेछ । खेलाडी र खेलकुदको हितमा अझै काम गर्न बाँकी छ भनेर हामी लागेका छौं ।’

पोखरा

पोखरामा हुने केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

मंसिर ७ देखि १५ गतेसम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा हुने प्रतियोगिता मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको हो ।

प्रतियोगितामा सातै प्रदेशको टोलीसँगै विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक मदन भण्डारी स्पोर्टस् क्लबका २ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

बिहीबार पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतियोगिताको उद्घाटन गर्ने तय भएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँको साथमा सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले जानकारी दिए । उनका अनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

म्यान अफ द सिरिजले नगद ३० हजार रुपैयाँ, बेस्ट बलरले नगद २० हजार रुपैयाँ र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न ७७ लाख रुपैयाँ खर्र्च लाग्ने अनुमान छ । स्थानीय तहसँगको सहकार्यमा आर्थिक जोहो गर्ने अध्यक्ष आचार्र्यले बताए ।

प्रतियोगितालाई निरन्तरता दिने आचार्य बताउँछन् । ‘२ वर्षमा या वर्ष दिनमा गर्ने भन्ने टुंगो लाग्न बाँकी छ । फरक फरक ठाउँमा हुनेछ’, उनले भने, ‘पुरस्कार राशी पनि वर्षेनी बढ्नेछ । खेलाडी र खेलकुदको हितमा अझै काम गर्न बाँकी छ भनेर हामी लागेका छौं ।’

मंगलबार पोखरामा पत्रकार सम्मलेन गर्दै विजेता र उपविजेताले पाउने सिल्डसमेत सार्वजनिक गरिएको छ ।

केपी ओली राष्ट्रिय कप टी– २० क्रिकेट प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक भएको छ । उद्घाटन खेलमा बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’ ले प्रतिस्पर्धा गर्नेछन् । त्यसपछिका हरेक दिन २ खेल हुनेछ।

ग्रुप ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’, ग्रुप ‘बी’ मा एपीएफ, लुम्बिनी र गण्डकी, ग्रुप ‘सी’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम छन् । ‘डी’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ‘निलो’ छन् ।

प्रकाशित मिति २०८० मंसिर ५ गते मंगलबार ०३:५७

हजुरको प्रतिक्रिया