पोखरा
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ब्याटिङ र बलिङ गरेर प्रतियोगिताको सुरुआत गरे ।
ओलीले बलिङ गर्दा ब्याटिङमा एमाले उपाध्यक्ष विष्णु पौडेलले साथ दिए । ओलीले ब्याटिङ गर्दा पौडेल बलिङमा उत्रिए ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको प्रतियोगिताको उद्घाटन शत्रलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले खेलाडी पूर्ण रुपमा समर्पित नभएसम्म खेलको गुणस्तर बढ्न नसक्ने बताएका छन् । खेलाडी खेलमा समर्पित हुन आर्थिक परिवेश, जीवन, परिवार पनि सम्बन्धित हुने उनको भनाइ छ ।
ओलीले भने, ‘अहिले केही खेलहरु व्यवसायिक रुपमा स्तरोन्नती हुन थालेका छन् । आगमी दिनमा अझ बढी खेल क्षेत्र व्यवसायिक रुपमा जान सकोस् । जबसम्म खेल क्षेत्र र खेलाडी व्यवसायिक रुपमा पूर्ण समर्पित भएर जान सक्दैनन् तबसम्म खेल क्षेत्रको गुणस्तर उठ्न सजिलो छैन ।

सरकारले खेलाडीलाई पूर्ण रुपमा समर्पित हुनलाई तारतम्य मिलाउनुपर्ने ओलीले बताए । खेल क्षेत्रको विकासमा सरकारले गर्नुपर्ने काम, कर्तव्यमा कुनै कमी हुन नदिन उनले आग्रह गरेका छन् ।
उनले अन्तर्राष्ट्रिय स्तरका रंगशाला बनाउन एमालेले सुरुवात गरेको दाबीसमेत गरे ।उपाध्यक्ष विष्णु पौडेलले खेल क्षेत्रको विकासका लागि पूर्वाधारको विकास गर्नुपर्ने बताए । ‘स्रोत, साधान र संरचनाको काम गर्नुपर्छ । खेल बुझेको राम्रो सरकार नभएसम्म खेल क्षेत्रको विकास हुन सक्दैन । आज जे जस्तो खेल पूर्वाधार बनेका छन् । नेकपा एमालेको सरकार केपी ओलीको नेतृत्वमा भएका हुन्’, उनको दाबी छ ।
उद्घाटन खेलमा अहिले आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी ’रातो’ र बाग्मती प्रदेशको टोली मैदान उत्रिएका छन् ।
टस जितेर मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘रातो’ ले फिल्डिङ रोजेपछि बाग्मती प्रदेशले ब्याटिङ गरिरहेको छ ।
मंसिर १५ गतेसम्म चल्ने प्रतियोगितामा सातै प्रदेशको टोलीसँगै विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक मदन भण्डारी स्पोर्टस् क्लबका २ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
विजेताले ५ लाख रुपैयाँको साथमा सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने एकेडेमीका अध्यक्ष धुब्र आचार्यले जानकारी दिए। उनका अनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछ।
म्यान अफ द सिरिजले नगद ३० हजार रुपैयाँ, बेस्ट बलरले नगद २० हजार रुपैयाँ र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन्।
प्रतियोगिता सम्पन्न गर्न ७७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ। प्रत्येक वर्ष फरक फरक भूगोलमा प्रतियोगिता सञ्चालन गर्ने उनको उद्घोष छ ।





