शुक्रबार पाेखरामा मात्रै ७० संक्रमित थपिए
पाेखरा । गण्डकी प्रदेशमा हालसम्म १२ हजार ४९७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । कुल १ लाख १० हजार ५९० जनाकाे काेराेना परिक्षणबाट साे संख्याका संक्रमित भेटिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
प्रदेशभर हालसम्म ७ हजार २९१ जना निकाे भएर घर फर्किएका छन् भने हाल प्रदेशभर ५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् । प्रदेशमा भाइरसकाे संक्रमणपछि हालसम्म १६३ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लाे २४ घण्टामा प्रदेशभर जम्मा १५६ जनाकाे काेराेना परिक्षण भएकाे छ । जसमा, ८४ जना संक्रमित थपिएका छन् । याे अवधीमा १३ जना निकाे भएका छन् भने १ जनाकाे ज्यान गएकाे छ ।
प्रदेशभर कुल ८४ जनामा संक्रमण पुष्टि हुँदा ७० जना भने पाेखरा महानगरका मात्रै रहेका छन् । मादी गाउँपालिकाका एक संक्रमित सहित शुक्रबार कास्कीका ७१ जनामा संक्रमण पुष्टि भएकाे छ । अन्य संक्रमितहरूमा म्याग्दीका ९ जना, स्याङजाका २ जना तथा तनहुँ र बाग्लुङका एकएक जना रहेका छन् ।
कास्कीकाे पछिल्लाे अवस्था भने चिन्ताजनक छ । कास्कीमा पनि विशेष पाेखरा महानगरपालिकाकाे अवस्था खराब छ । कास्कीमा हालसम्म ५ हजार ३ सय ९८ जनामा संक्रमण पुष्टि भएकाे छ भने १ हजार ७४७ जना निकाे भएका छन् । कास्कीमा हाल ३ हजार ५६५ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ८६ जनाले ज्यान गुमाइसकेकाे अवस्था छ ।
प्रकाशित मिति २०७७ मंसिर १९ गते शुक्रबार ०७:३८




