आर्मी र बागमती भिड्दा मधेसले एपीएफकाे सामना गर्ने
पाेखरा । पोखरामा जारी केपी ओली कप टि -२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएकाे छ । सेमिफाइनलका दुवै खेल बिहिबार हुनेछन् ।
कुल १२ टिम सहभागी प्रतियाेगिताकाे पहिलो सेमिफाइनलमा बागमती प्रदेशले आर्मीकाे सामना गर्नेछ भने दोस्रो सेमिफाइनल सशस्त्र प्रहरी बलकाे एपीएफ र मधेस प्रदेशबिच हुनेछ ।
सेमिफाइनल यात्रा तय गरेकाे बाग्मतीले कर्णाली प्रदेश र मदन भण्डारी स्पाेर्टस एकेडेमी राताेलाइ पराजित गरेकाे थियाे । आर्मी काेशी प्रदेश र मदन भण्डारी स्पाेर्टस एकेडेमी निलाेलाइ पराजित गरेर सेमिफाइनल यात्रा तय गरेकाे हाे । अपराजित यी दुइ टाेलीविचकाे भिडन्त राेमाञ्चक हुने निश्चित छ ।
राेहित पाैडेल, साेमपाल कामी, बिनाेद भण्डारी, कुशल मल्ल, भीम सार्की लगायतका खेलाडीहरूकाे वर्चश्व रहेकाे आर्मीलाइ उपाधीकाे दावेदार मानिएकाे छ । यता, सन्दीप लामिछाने, रित गाैतम, प्रतिस जिसी, इशान पाण्डे लगायतका खेलाडीहरूसहितकाे बागमतीले आर्मीसँग कडा चुनाैती पेश गर्नेछ ।
यता, मधेस प्रदेश भने एक जीत र एक हारका साथ बलियाे रनरेटकाे आधारमा सेमिफाइनलकाे यात्रा तय गर्न सफल बन्याे। नेपाल पुलिस क्लवसँग पराजित मधेसले सुदुरपश्चिम प्रदेशलाइ पराजित गरेकाे थियाे । नेपाल पुलिस सुदुरपश्चिमसँग पराजित हुँदा समान अंक भएर पनि रन रेटका आधारमा सेमिफाइनल यात्रा तय गर्न असफल बन्याे।
एपीएफकाे सेमिफाइनल यात्रा पनि मधेसकै जस्ताे रह्याे । गण्डकीसँग पराजित एपीएफले लुम्बिनीमाथी जित निकाल्याे । एपीएफलाइ पराजित गरेकाे गण्डकी लुम्बिनीसँग अन्तिम ओभरमा हार व्यहाेर्दा सेमिफाइनल पुग्न असफल रह्याे । एक-एक जित निकालेका लुम्बिनी र गण्डकीलाइ नेट रन रेटमा पछि पार्दै एपीएफ सेमिफाइनल पुग्याे ।
मदन भण्डारी स्पोटर्स एकेडेमी केन्द्रीय कमिटीको आयोजनामा पाेखरा रंगशालामा आयाेजित प्रतियोगिताका विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । आइसिसीको नियम अनुसार खेलाइने प्रतियोगितामा सम्पन्न गर्न ७७ लाख खर्च लाग्ने आयोजककाे अनुमान छ ।
फाइनल खेल शुक्रबार हुनेछ ।
प्रकाशित मिति २०८० मंसिर १३ गते बुधबार ०७:४९




