२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेश

५ वर्षदेखि गाडी नवीकरण गर्नुभएको छैन ? गाडी नै जफत हाेला !

५ वर्षदेखि गाडी नवीकरण गर्नुभएको छैन ? गाडी नै जफत हाेला !

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर १४ गते बिहीबार ०२:२५

एक महिनाभित्र अनिवार्य रुपमा वक्यौता कर तिर्न सूचना नै जारी गरेको छ

गण्डकीमा नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार

पोखरा
गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको छ । यातायात व्यवस्था कार्यालय कास्की, नवलपुर र बागलुङमा गरी अहिलेसम्म करिब साढे ३ लाख सवारी साधनको संख्या पुगेको छ ।

वार्षिक नवीकरण नै नगरी सवारी साधन चलाउनेको संख्या बढेपछि यातायात व्यवस्था कार्यालयको टाउको दुखाइ बनेको छ । कार्यालयले अब नवीकरण नै नगरी चलेका सवारी साधन जफत नै गर्ने भएको छ ।

सडकमा प्रहरीले चेकजाँच गर्ने र लामो समय नवीकरण नै नगरी चलाउने गाडीलाई जफत गर्न थालेको छ । यातायात व्यवस्था कार्यालय कास्की (सवारी)का प्रमुख डिल्लीराम रिज्यालका अनुसार बुधबार पोखराबाट यस्तै एउटा सवारी साधन प्रहरी जफत गरेर बुझाएको छ ।

कार्यालयले अबको एक महिनाभित्र अनिवार्य रुपमा वक्यौता कर तिर्न सूचना नै जारी गरेको छ । कर नतिरी रकम बक्यौैता राख्ने क्रमलाई रोक्न र कर तिर्न प्रोत्साहन गर्न कार्यालयले जरिवाना छुटको व्यवस्थासमेत गरेको छ ।

कार्यालयमा दर्ता भएका केही पुराना तथा नयाँ साधन कर, आयकर, रुट इजाजत शुल्क तथा नियमानुसार लाग्ने अन्य शुल्क समयमा नबुजाई वक्यौता राखेको कार्यालयका प्रमुख डिल्लीराम रिज्यालले जानकारी दिए ।

गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनको हकमा २०७५/०७६ भन्दाअघिको तिर्नुपर्ने वक्यौता जरिवाना पूरै छुट हुने कार्यालयले जनाएको छ । प्रत्येक वर्षको सवारी साधन कर नतिर्नेको जरिवानाको शुल्क पनि बढ्ने जाने ऐनमा व्यवस्था छ ।

सवारी साधनको म्याद सकिएको ९० दिनभित्र नवीकरण गर्न जाँदा जरिवाना लाग्दैन । तर, ९० दिन कटेको ३० दिनसम्म ५, ४५ दिनसम्म १० प्रतिशत र त्योभन्दा पछि २० प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।

एक आर्थिक वर्ष नै नवीकरण मिति गुज्रियो भने ४० प्रतिशत, अर्को वर्ष पनि कट्यो भने ६० प्रतिशत हुँदै १०० प्रतिशतसम्म बढी जरिवाना शुल्क तिर्नुपर्छ । ५ वर्षसम्म कर नतिरेको सवारी साधनलाई अब प्रहरीले जफत गरेर कार्यालयमा पठाउने प्रमुख रिज्यालले बताए ।

कार्यालयले दर्ता भएको २० वर्ष अवधि नाधेका सवारी साधनलाई पनि अनिवार्य लागत कट्टा गर्नुपर्ने जनाएको छ ।

इम्बोस्ड नम्बर अनिवार्य

यातायात व्यवस्था विभागले गत सालको साउन १ गतेबाटै गण्डकी र बागमतिमा इम्बोस्ड नम्बर अनिवार्य गरेको थियो । तर, तयारी नै नगरी विभागले सूचना जारी गरेपछि कार्यालयले नम्बर उपलम्ब गराउन नसकेको प्रमुख रिज्यालले बताए ।

गण्डकी प्रदेशका अब अनिवार्य ईम्बोस्ड नम्बर जडान गर्नुपर्ने भएको छ । यातायात व्यवस्था कार्यालय सवारी कास्कीले २०८० मंसिर १० गतेबाट अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न सूचना जारी गरेको हो । हालसम्म गण्डकीमा जम्मा २५ सय वटा सवारी साधनको इम्बोस्ड नम्बर जडान भएको रिजालले बताए ।

उनका अनुसार नयाँलाई अनिवार्य गर्ने र पुराना पनि निरन्तरता दिइने छ । अब इम्बोस्ड नक्बर जडान गरेपछि मात्र आधिकारिक कागजात उपलब्ध हुने प्रमुख रिज्यालले जानकारी दिए ।

अहिले विभागको सर्भरको क्षमताले ५६ देखि ७० वटामात्रैै इम्बोस्ड नम्बर जडान गर्न सकिन्छ । विभागले सर्भरको क्षमता बढाइदिने हो भने दिनमै २÷३ सय वटा नम्बर जडान गर्न सकिने रिज्यालको भनाइ छ ।

प्रकाशित मिति २०८० मंसिर १४ गते बिहीबार ०२:२५
हजुरको प्रतिक्रिया