अढाई दशकअघि गैँडाकोट नगरपालिका– ९ थुम्सीलाई चिनाएकाे पातेढिँडोले अब भरतपुर, नारायणगढ र गैँडाकोट आसपासका पारखीहरूकाे स्वादकाे भाेक समेत मेटाउने भएकाे छ ।
थुम्सीमा खुलेको पातेढिँडो होटेल एन्ड रेन्टुरेन्ट भरतपुर शाखासम्म आइपुग्दा पातेढिँडो एन्ड बिच रिसोर्ट प्रा.लि. भएको छ । भरतपुर महानगरपालिका– १० बाट पहिलाे शाखाकाे रूपमा सेवा विस्तार गरेकाे पातेढिँडो एन्ड बिच रिसोर्ट प्रा.लि.ले मंसिर १७ गतेदेखि सेवा उपलब्ध गर्ने जनाएकाे छ ।
पातेढिँडो भरतपुर शाखा सञ्चालक पर्यटन व्यवसायी मीनबहादुर गुरुङले गुरुङ भाषामा पातेको अर्थ माइली छोरी हुने जानकारी गराउँदै भने, ‘हामीले रिसोर्टको लुक्सलाई फरकपन दिने कोसिस गरेका छौँ । उपभोक्ताहरूको माग र चाहनाअनुसार अन्य स्थानमा पनि बिस्तारै शाखा खोल्दै लैजाने योजना पनि गरेका छाैं ।’ बजारमा पातेढिँडोको नाममा धेरै होटेल खुल्न थालेको विषयमा पनि ध्यानाकर्षण भएको गुरूङले उल्लेख गरे ।
रिसाेर्टमा मकै र फापरको ढिँडो, धराने बंगुरको सेकुवा, चिकेन सेकुवा, मटन सेकुवा, बफ सेकुवा र स्वादिष्ट फास्टफुड लगायतका परिकार पाइने रिसोर्टद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। करिब दुई करोड रुपैयाँ लगानीमा सुरु भएको पातेढिँडोको भरतपुर शाखाले हाल २२ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । मंसिर १७ गते सफ्ट ओपनिङ र जनवरी १ अर्थात् पुस १६ गते ग्रान्ड ओपनिङ गर्दैछ । देशका प्रमुख सहरहरूमा थप शाखा खोल्ने लक्ष्य लिइएको संस्थाका अध्यक्ष वृखलाल गुरुङले बताए ।
रिसाेर्टले खानाका अलावा आवश्यक सभा, सेमिनारलगायतका कार्यक्रमका लागि सयजनासम्मको क्षमता भएको सुविधासम्पन्न वातानुकूलित (एसी) सेमिनार हल र १५ जनासम्मका लागि ६ वटा प्राइभेट वातानुकूलित (एसी) डाइनिङ हलको समेत सुविधा रहेकाे जनाएकाे छ ।
प्रकाशित मिति २०८० मंसिर १४ गते बिहीबार ०७:१७




