पोखरा
१९ औं संस्करणको लेखनाथ महोत्सवको तयारी तिब्र बनाइएको छ । ‘महोत्सवको पनि महोत्सव’ परिचय बनाएको लेखनाथ महोत्सव पुस ५ देखि १६ गतेसम्म हुदैछ ।
लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सव सञ्चालन गर्न ९ सदस्यीय निर्देशक समिति बनाइएको छ । ४० सदस्यीय सल्लाहार समिति र ४२ सदस्यको कार्यसम्पदान तथा उपसमिति संयोजक चयन गरेको प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु) ले जानकारी दिए ।
तालचोक डाँडाकोनाकमा हुने महोत्सवमा ३३४ स्टल रहनेछ । यो पटक संघका सदस्यलाई स्टलमा विशेष प्राथमिकता दिएको सुवेदीको भनाइ छ । संघका सदस्यालाई १० प्रतिशत छुट र २ हजार रुपैयाँ यातायात खर्चको व्यवस्था मिलाइएको उनले बताए । ‘संघका सदस्यबाट १३० स्टल बुकिङ भइसकेको छ । समग्रमा हालसम्म करिब ७० प्रतिशत स्टल बुकिङ भयो’, उनले बताए ।
महोत्सवमा ९० लाख रुपैयाँको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । १० लाख रुपैयाँ बचत हुने आयोजकले जनाएको छ ।
बचत रकमले प्रदर्शनी स्थल र संघको भवन स्तरोन्नती गरिनेछ । औद्यगिक क्षेत्र निर्माणका लागि पहल, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थलको विकास, बेगनास तालको बराह मन्दिर संरक्षण, स्थानीय उद्यमीको उत्पादनलाई बजारीकरणमा सघाउन कोशेली घर निर्माणको योजना संघले बनाएको छ ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लघु, घरेलु, सानाठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवाको प्रदर्शनी, हस्तकला, कृषि तथा पशुजन्य वस्तुको खरिदबिक्री, विद्यालयस्तरीय शैक्षिक एवम विज्ञान सामग्रीको प्रदर्शनी हुनेछ ।
जातीय भेषभुषा, कला, संस्कृति रितिरिवाजको जगर्नेना महोत्सवको मुख्य उदेश्य रहने लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोदकुमार श्रेष्ठले बताए ।
प्रकाशित मिति २०८० मंसिर १८ गते सोमबार ०६:५४




