पोखरा
कुनै बेला फेवातालमा माछा मारेरै गुजारा चलाउने खपौदीका शैलेन्द्र जलारीलाई अहिले गुजारा चलाउनु त परको कुरा परम्परागत पेशा जोगाउनै मुस्किल छ । साँघुरिएको फेवातालमा माछाको संख्या वर्षेनी घट्दो छ । पहिला जस्तो न शहर छ न कत्ले भेटिन्छ ।
फेवातालमा जाल हानेर दिनमा १ किलो माछा मार्न मुस्किल हुने उनी बताउँछन् । शैलेन्द्र भन्छन्, ‘फेवातालमा पहिला माछा प्रशस्त थियो । अहिले हामीले दैनिक गुजारा चलाउन पनि धौं भइरहेको छ । माछाको निकै कमी छ ।’
माछाको कमीले परम्परागत पेशाबाट पलायन हुनुको चिन्ता त उनीलाई छ नै । अर्को चिन्ताको कारण हो, फेवातालको मापदण्डले घरबास उठ्ने । भएको २\४ आना जग्गा पनि मापदण्डमा परेपछि के गर्ने उनलाई सोचमग्न बनाएको छ ।
फेवातालको मापदण्ड ६५ मिटर कायम गर्न सर्वोच्च अदालतले पोखरा महानगरपालिकाको नाममा जारी गरेको परमादेशले तर्साएको उनले सुनाए । ‘ताल किनारमा पुख्र्यौली बसोबास गर्दै आइरहेका जलारी समुदायप्रति राज्य गम्भिर बन्नुप¥यो, माननीय ज्युले पनि सोच्नुप¥यो’, मंगलबार संसदीय पत्रकार मञ्चले आयोजना गरेको नागरिक सुनवाइ कार्यक्रममा शैलन्द्रेले माग राखे ।
२०३२ सालमा यूनएडिपीले फेवातालमा केजमा माछापालन गर्न सघाएपछि खपौदी क्षेत्रका जलारी समुदायको पेशा फस्टाउदै थियो । केज राखेर माछापालन गरेपछि आर्यआर्जन निकै राम्रो भएको रामचन्द्र जलारी सम्झन्छन् ।
‘पछि ताल बनाउछु भनेर १० वटा डोजर हानेर जथाभावी खनियो । ६०५ वटा केज थियो जलारीहरुको सबै पुरियो । करोडौंको माछा र जाल पुरियो’, उनले भने, ‘त्यसपछि हाम्रो आयआर्जनमा निकै कमी भएको छ ।’
उनीसँग वर्षमा ५ सय किलोसम्म माछा बिक्री गरेको अनुभव छ । पोखरामा नबिकेर काठमाडौंसम्म पु¥याएको उनी बताउँछन् । जथाभावी ताल वरपर डोजर चल्नु र मिचाहा माछा बढ्नुले फेवातालमा माछा उत्पादनमा कमी ल्याइरहेको उनको भनाइ थियो । ‘माछा कसरी बढाउने राज्यले हेर्दिनुप¥यो’, उनले भने ।
उसो त यहाँका जलारी समुदायले माछा मार्ने पेशामा असुरक्षित महशुस गरिरहेका छन् । माछाको संरक्षणसँगै जीवन सुरक्षाको खाँचो रहेको लक्ष्मी जलारीले बताइन् ।
‘माछा पार्न राखेको जाल चोर्दिने, काटेर लैदिने । माछा पक्रेर उनीहरुले नै लान्छन्’, उनले भनिन्, ‘यहाँ नथाप, त्यहाँ नथाप भनेर हामीलाई धम्क्याउने पनि हुन्छ । राज्यबाट सुरक्षाको पहल गर्दिनुस ।’ खपौदी पारिका वस्तीबासीले दुख दिइरहेको उनको गुनासो थियो ।
जलारी समुदायको मुख्य पेशा माछा पार्ने हो । तर, माछा मार्ने काममा निर्भर हुने अवस्था नरहेपछि परम्परागत पेशाबाट पलायन भइरहेका छन् । धेरैको विकल्प वैदेशिक रोजगारी भइरहेको छ ।
‘परम्परागत पेशा परिवर्तन गर्न बाध्य हुनुको प्रमुख कारण उत्पादनमा जोखिम बढ्नु रहेको छ’ ४ वर्षअघि झलक सुवेदीले फेवातालमा आश्रित जलारी समुदायसँग केन्द्रीत भएर तयार पारेको शोधपत्रमा भनिएको छ । मुहानमा बम, विष, करेन्टको प्रयोग गरी माछा मारिनुले पनि उत्पादनमा कमि आएको उल्लेख छ ।
फेवातालमा शहर, कत्ले, रेवा, फगेटा, बाम लगायत १० भन्दा बढी रैथाने जातका माछा पाइन्थ्यो । तिलापिया, सिसा, बिगहेड, अफ्रिकन मांगुर लगायतका उन्नत जातका माछाका भुरा बेलाबखतमा छाड्ने गरिन्छ । तर, उन्नत जातका माछाको मिचाहा प्रवृत्तिले रैथाने जातका माछा हराउँदै गएको जलारी समुदाय बताउँछन् ।
फेवातालमा माछाको उत्पादन घटिरहेको बेगनास मत्स्य अनुसन्धान केन्द्रको तथ्याङ्कले पुष्टि गर्छ । आर्थिक वर्ष २०७२/७३ मा ६४ मेट्रिक टन माछा फेवातालमा उत्पादन भएको थियो । २०७८/७९ सम्म आइपुग्दा घटेर ४१.४ मेट्रिक टनमा माछा उत्पादन खुम्चिएको छ ।
फेवातालमा आश्रित जलारी समुदाय प्रश्न गर्छन्, ‘हामी तालमा आश्रित भएर बाँचिरहेका छौं । तालमा माछा सकिए जस्तै जलारी समुदाय सक्किने त होइन ? जलारीलाई बचाउने राज्यसँग इच्छा छैन ?’
प्रकाशित मिति २०८० मंसिर २० गते बुधबार ०९:१८




