टेस्ट राष्टलाई पराजित गर्दै दाेस्राे चरण पुग्ने लक्ष्यका साथ दुबइ पुगेकाे नेपाली यू १९ क्रिकेट टाेली पहिलाे खेलमै पराजित भएकाे छ । एसीसी यू १९ एसिया कपकाे पहिलाे खेलमै नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हाे।
दुबईको आईसीसी एकेडेमी ओभल–२ मा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४७.२ ओभरमा १ सय ५२ रन बनाउँदा अलआउट भयो। नेपालले दिएको १ सय ५३ रनको मध्यम लक्ष्य पाकिस्तानले २६.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।
शुरूवाती २ विकेट सस्तैमा गुमाएकाे पाकिस्तानकाे तेस्रो विकेटका लागि अजान अवाइस र कप्तान साद वैगले १ सय ८ रनको साझेदारी गरेपछि जित सहज बनेकाे थियाे । कप्तान तथा विकेट किपर वैग अर्धशतक पूरा गर्दै पवेलियन फर्के। पाकिस्तानका अजान अवाइस ५६ र मोहम्मद जेसन २० रनमा नटआउट रहे। ओपनर तथा कप्तान सजैव खान १५ रनमा क्याच आउट भए। श्यायल हुसैन शुन्य रनमा आउट भए।
नेपालका लागि गुल्सन झाले २ विकेट लिए भने आकाश त्रिपाठीले एक विकेट आफ्नो नाममा गरे।
नेपालका लागि उत्तम थापा मगरले ५१ रन, दिपेश कँडेलले ३१ रन र अर्जुन कुमालले २१ रन बनाउनु बाहेक अन्य कुनैपनि ब्याटरले दाेहाेराे अंकमा रन जाेडन नसक्दा नेपाल सस्तैमा समेटिन बाध्य बनेकाे थियाे ।
पाकिस्तानका लागि मोहम्मद जेसन एक्लैले ६ विकेट लिए। घातक बलिङ गरेका जेसनले ९।२ ओभरमा १ मेडन राख्दै मात्र १९ रन दिए।
अमिर हसनले दुई तथा अलि अस्फन र उबैद शाहले समान १ विकेट लिए।
नेपालले समुह चरणको दोस्रो खेलमा पर्सि आइतबार अफगानिस्तानसँग खेल्नेछ। समुह चरणको अन्तिम खेलमा २६ गते नेपालले भारतसँग खेल्ने तालिका छ।
नेपाल रहेको समुह ए मा भारत र पाकिस्तानसँगै अफगानिस्तान छन्। समुह बी मा बंगलादेश, श्रीलंका, युएई र जापान छन्। समुहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल खेल पुष १ गते हुनेछ।
प्रकाशित मिति २०८० मंसिर २२ गते शुक्रबार ०८:०२




